
दीपेन्द्र अधिकारी र विनोद बजगाइँ (इमेज)
काठमाडौं, साउन १७ । ‘लकडाउन’ खुलेसँगै काठमाडौंको वायु केही प्रदूषित भएपनि विगतका वर्षमा झैं यस वर्ष पनि मनसुनको समयमा काठमाडौं उपत्यकामा वायु प्रदूषण कम भएको छ ।
तर, यो वायुको स्वच्छता अस्थायी भएकाले ढुक्क भइहाल्न नसकिने वातावरणविद्हरुले बताएका छन् ।
लकडाउनमा काठमाडौंको प्रदूषणको अवस्थामा सुधार आएपनि त्यसपछि काठमाडौंको वायु प्रदूषण केही बढेको छ ।
पहिलाको औसत १८५ माइक्रोग्राम्स पर क्युबिक मिटरबाट काठमाडौंको प्रदूषणको तह लकडाउनको समयमा विश्व स्वास्थ्य संगठनको मापदण्ड २५ माइक्रोग्राम्स पर क्युबिक मिटर आसपास झरेको थियो ।
लकडाउन खुलेसँगै वायु प्रदूषण बढेपनि अहिले नेपाल सरकारले बनाएको मापदण्ड ५० माइक्रोग्राम्स पर क्युबिक मिटरभन्दा माथि गएको छैन ।
काठमाडौंको वायु प्रदूषणको प्रमुख कारक यातायातका साधनको धुवाँ भएपनि मनसुनको समयमा विगतका वर्षझैं यस वर्ष पनि काठमाडौंको वायु स्वच्छ देखिएको हो ।
लकडाउन र मनसुनले वायु प्रदूषणको अवस्थामा सुधार आएपनि अहिले अस्वस्थ हावामा सास फेर्नु परिरहेका कारण कैयौं स्थानका मानिसहरू उच्च जोखिममा रहेको वातावरणविद्हरुले बताउँदै आएका छन् ।
नेपालमा वार्षिक वायु प्रदूषणको औसत मात्रा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले वायु गुणस्तरका लागि तोकेको मापदण्डभन्दा पाँच गुणाले बढी छ ।
मनसुनका कारण अस्थायीरुपमा भएको वायुको स्वच्छताले ढुक्क हुने अवस्था नरहेकोमा वातावरणविद्हरुले चिन्ता व्यक्त गरिरहेका छन् ।
लकडाउनको अवधिमा दमलगायतका श्वासप्रश्वाससँग सम्बन्धित समस्या भएका बिरामी अस्पताल आउनेक्रम घटेका थिए ।
लकडाउन खुलेसँगै अस्पतालमा श्वासप्रश्वासका बिरामीको चाप पनि विस्तारै बढ्दैछ ।
वातावरणविद्हरूले वायुको गुणस्तर सुधार्न पेट्रोलियम पदार्थको खपत गर्ने सवारी–साधन प्रयोग नगर्न तथा साइकलको प्रयोग गर्न सुझाएका छन् ।
सन् २०१९ को विश्व वायु गुणस्तर एक प्रतिवेदनमा नेपालमा वायु प्रदूषणको अवस्था विश्वकै आठौं खराब भएको उल्लेख गरेको छ ।
वायु प्रदूषणका कारण वर्षेनि विश्वभर ७० लाख मानिसहरूले ज्यान गुमाउने बताइन्छ ।
क्यान्सर, हृदयाघात, दम, श्वासप्रश्वासमा समस्याजस्ता रोग निम्त्याउने वायु प्रदूषणबाट नेपालमा पनि प्रत्येक वर्ष ३७ हजारभन्दा बढीले ज्यान गुमाउने विभिन्न अध्ययनहरूले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्