
रोमन आचार्य, भरत केसी र सुन्दर गुरुङ (इमेज)
काठमाडौं, साउन १७ । नेपाली कांग्रेसमा संस्थापनइतरका एक सशक्त नेताको रुपमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफूलाई स्थापित गर्नुभएको छ ।
१३औं महाधिवेशनबाट पार्टीमा तेस्रो धारको निर्माण र नेतृत्व सिटौलाले गरिरहनुभएको छ ।
महाधिवेशनको सम्मुखमा विभाग गठनको विषयमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच वाकयुद्ध चलिरहँदा मौनता साँधेको सिटौला समूहले भने १४औं महाधिवेशनमा सभापति बन्ने दौडधुप गरिरहेको छ ।
अघिल्लै वर्षदेखि युवा नेताहरुको मोर्चाबन्दी गरेर कांग्रेसभित्र तेस्रो धारको नेतृत्व गरिरहनुभएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले १४औं महाधिवेशन पार्टी सभापतिमा उम्मेदवारी दिने अन्तिम तयारी गरिरहनुभएको छ ।
कोइराला परिवारको ‘लिगेसी’मा आफूलाई उत्तराधिकारीको रुपमा प्रस्तुत गरिरहनुभएका सिटौलाको तयारी पार्टीका प्रभावशाली मानिएका गगन थापा, प्रदीप पौडेल, उमाकान्त चौधरीलगायतको युवाशक्तिलाई देखाएर पदको ‘बार्गेनिङ’ गर्ने विश्लेषण पनि भइरहेको छ ।
सिटौलानिकट मानिनुभएका नेता भीमसेनदास प्रधान पार्टीलाई निकास दिन पनि सभापतिमा सिटौलाको उम्मेदवारी अनिवार्य भएको बताउनुहुन्छ ।
१३औं महाधिवेशनको पहिलो चरणमा सभापतिका लागि चुनाव लड्नुभएका सिटौला र उहाँको समूहको मत दोस्रो चरणमा निर्णायक बन्यो ।
सिटौला समूहको निर्णायक मतले नै वर्तमान सभापति शेरबहादुर देउवा सभापति निर्वाचित हुनुभयो । अहिलेपनि सिटौला अन्तिम अवस्थामा देउवानिकट हुने आरोप लागिरहेको छ ।
तर, नेता प्रधान यो कुरा स्वीकार गर्नुहुन्न ।
तर, सिटौलाको पछिल्ला कदमहरु संस्थापन पक्षलाई सहयोग गरेर अघि बढ्नेजस्तो देखिन्छ ।
विधानअनुसार छ महिनामा गठन गर्नुपर्ने विभाग १४औं महाधिवेशन आउन सात महिनामात्र बाँकी रहेको अवस्थामा विस्तार गरेको भन्दै पौडेल पक्षले सभापतिलाई आरोप लगाइरहँदा सिटौला पक्षधरले मौनता साँधेको छ ।
१४औं महाधिवेशनको अन्त्यतिर सिटौला समूहको मत निर्णायक हुनेमा दुविधा छैन ।
युवाशक्तिहरुको बलमा पनि सिटौलालाई देउवा तथा पौडेल समूहले तानातान गर्ने सम्भावनालाई नकार्न सकिँदैन ।
कांग्रेसभित्र अहिले १४औं महाधिवेशन र गुटगत रस्साकस्सी बढेको बेला सिटौलाको रणनीति र तयारीमा पनि चासोको विषय बनेको छ ।
समूहगत भेलाहरुले तीव्रता पाएको बेला युवा नेतृत्वको शक्ति देखाएर सिटौलाले सभापति नपाए केही महत्वपूर्ण पदमा सहमति गर्ने सम्भावना रहेको कतिपयले आँकलन गर्न थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्