
काठमाडौं, साउन २० । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबारबाट बजारमा कोरोना रोकथामका लागि उपाय अपनाएको/नअपनाएको पनि अनुगमन थाल्ने भएको छ ।
विभागले कोरोनाको जोखिम बढिरहेको भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालय, ट्राफिक महाशाखाको सहयोगमा विभिन्न बजारहरुमा स्वास्थ्य मापदण्ड अपनाएको वा नअपनाएको अनुगमन थाल्ने भएको हो ।
विभागले मानिसको चाप बढी हुने ठाउँ तथा विभिन्न कार्यालयमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भए/नभएको अनुगमन गर्न र आवश्यक कारबाही गर्ने जनाएको छ ।
विभिन्न व्यापारिक प्रतिष्ठान तथा पसलहरुमा पनि सामाजिक दूरी नराख्ने तथा मास्कसमेत नलगाउने गरेको पाइएको भन्दै विभागले अनुगमन सुरु गर्न लागेको हो ।
विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले न्यूनतम् स्वास्थ्य मापदण्डसमेत नअपनाएको र कोरोनाको जोखिम बढिरहेको भन्दै जोखिम न्यूनीकरणका लागि विभागले अनुगमन गर्ने र स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेलाई आवाश्यक कारबाही पनि गरिने बताउनुभयो ।
‘लकडाउन’ खुलेपछि काठमाडौंका विभिन्न स्थानहरुमा मानिसको चाप बढ्न थालेको छ ।
मानिसको अत्यधिक चाप तथा स्वास्थ्य मापदण्डकोसमेत पालना नगर्दा कोरोनाका बिरामीसमेत बढ्न थालेका छन् ।
लकडाउन खुलेपछि सबै प्रकारको पसल एकसाथ खोलिनु तथा मानिसको आवतजावत बढ्नु नै कोरोना संक्रमण फैलिनुको मुख्य कारणको रुपमा लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्