
प्रकाश लिम्बु (इमेज)
तेह्रथुम, साउन २१ । विद्यालयले सामूहिक रोपाइँ गर्छ भन्दा आश्चर्य लाग्नसक्छ । तर, अहिलेपनि तेह्रथुमको नारायण माध्यमिक विद्यालयले वर्षेनि सामूहिक धानखेती गर्दै आएको छ ।
धानखेतीबाट हुने आम्दानीले विद्यालय सञ्चालन गर्न थप मद्दत पुगेको छ ।
युवा जनशक्ति नभएपछि तेह्रथुमको नारायण माध्यमिक विद्यालयले खेत बाँझिन नदिन सामूहिक धानखेती गरेको छ ।
वि.सं. २०१५ सालमा स्थापित तेह्रथुमको म्याङलुङ नगरपालिका साब्लामा रहेको यस विद्यालयले ज्यालादारी कामदार तथा अधियाँ कुतमा रोपाइँ गर्ने कृषकहरुको अभाव भएपछि आफैंले धानखेती गर्नुपरेको हो ।
विद्यालय व्यावस्थापन समितिका अध्यक्ष गिरिराज सुवेदीले खेत बाँझिने भएपछि गाउँलेहरुलाई आग्रह गरेर विद्यालयले नै खेत रोपेको बताउनुभयो ।
विद्यालय स्थापना गरिएपनि तत्कालीन समयमा शिक्षकहरुलाई सेवा–सुविधा दिने स्रोत नभएपछि स्थानीय समाजसेवी जयनारायण सुवेदीले २१ रोपनी बेशी खेत विद्यालयलाई दिएका थिए ।
वर्षेनि ४० मुरी धान फल्ने उक्त खेतमा फलेको धान शिक्षकहरुले पारिश्रमिकस्वरुप लाने गरेको स्थानीयबासी भगवान रिजालले बताउनुभयो ।
वर्षेनि धान तथा अन्य हिउँदेबाली खेती हुँदै आएको उक्त खेत श्रमिकको अभावमा पछिल्लो केही वर्षयता बाँझिदै आउँदा विद्यालयको आम्दानीसमेत घट्दै आएको थियो ।
करिब ५०० विद्यार्थी तथा १८ जना शिक्षक कार्यरत् उक्त विद्यालयको आन्तरिक आम्दानीका लागि आफूहरु सामूहिक खेतीमा सहभागी भएको कृषक तुलसी भण्डारीले बताउनुभयो ।
बसाइँसराइ, वैदेशिक रोजगारीमा युवाहरूको आकर्षण, सिँचाइको अभाव, कृषि लागतमा वृद्धि र उत्पादनमा ह्रासजस्ता कारणले यहाँका जमिन बाँझो रहने सम्भावना बढ्दै गएको छ ।
तर, विद्यालय सञ्चालन गर्नको लागि सहज हुने र गाउँकै एउटा इज्जत र प्रतिष्ठाको विषय भएकाले पनि दाताले दिएको खेत बाँझै राख्नु राम्रो नभएकाले पनि गाउँले मिलेर रोपाइँ गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्