
काठमाडौं, साउन २१ । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबारबाट सुरु भएको छ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा सुरु बैठकमा अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, पार्टी समायोजन, आर्थिक व्यवस्थापन र आगामी कार्यदिशाबारे छलफल भइरहेको छ ।
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएपछि पहिलोपटक औपचारिकरुपमा बसेको पूर्ण कार्यकारिणी समितिको बैठकले शीर्ष नेताहरुले यसअघि गरेका निर्णयहरुलाई पनि अनुमोदन गर्नेछ ।
बैठकले पार्टी समायोजन निर्देशिका तय र आगामी कार्यदिशाका सम्बन्धमा ठोस निर्णय गर्ने नेता रकम चेम्जोङले जानकारी दिनुभयो ।
बैठकमा पार्टी नेताहरुको वरीयता विवाद र असन्तुष्टिबारे पनि छलफल हुनेछ ।
बैठक पाँच दिनसम्म चल्ने गरी तय भएपनि छलफल लम्बिनसक्ने नेताहरुले जनाएका छन् ।
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच गत वैशाख १० गते पार्टी एकता घोषणा भएको थियो भने निर्वाचन आयोगले गत असार २८ गते जसपा दल दर्ताको प्रमाणपत्र दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्