
काठमाडौं, साउन २१ । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप पाँचजनाको मृत्यु भएको छ ।
काठमाडौंमा एकजना र पर्सा र मोरङमा दुई/दुईजना संक्रमितको मृत्यु भएको पुष्टि भएको हो ।
मृत्यु हुनेमा सर्लाहीको मलंगवा नगरपालिका–६ की ६५ वर्षीया महिला छन् । बुधबार मध्याह्न काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उनको मृत्यु भएको अस्पतालका प्रवक्ता एसपी डा. प्रविन नेपालले जानकारी दिनुभयो ।
आइतबार संक्रमण पुष्टि भएकी उनलाई सोमबार सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।
यस्तै, पर्साकी १८ वर्षीया युवती र ४६ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ ।
उता, मोरङका ४५ वर्षीय दुईजना पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ ।
योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।
यस्तै, बुधबार काठमाडौं उपत्यकामा ६२ जनासहित देशभर ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै देशभर २१ हजार ३९० जनामा संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस बिफ्रिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्सा र काठमाडौंमा बढी संक्रमित भेटिएको जानकारी दिनुभयो ।
जसमा पर्सामा १५१ जना, काठमाडौंमा ५७, बारामा २८, स्याङ्जा र महोत्तरीमा १७/१७ जना, मोरङमा १४, बाँकेमा १३, धनुषामा १२, बझाङमा ११, सुर्खेतमा १०, कपिलवस्तुमा नौ, सप्तरीमा आठ, ललितपुरमा पाँच, मकवानपुरमा चार, गोरखामा तीन, रौतटह, सिरहा, सुनसरी, सर्लाही, इलाम, धादिङ र बागलुङका दुई/दुईजना, कास्की, उदयपुर, कालिकोट र दाङका एक/एकजनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, पछिल्लो २४ घन्टामा १३० जनाले कोरोना जितेका छन् । योसँगै देशभर १५ हजार १५६ जना ‘डिस्चार्ज’ भएका छन् ।
हाल देशभर छ हजार १७४ जना संक्रमितको भने उपचार भइरहेको छ । नौ हजार ९२५ जना ‘क्वारेन्टिन’मा छन् ।
प्रतिक्रिया दिनुहोस्