१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रानीपोखरीमा ‘आकाशेपानी संकलन पहिलो प्राथमिकतामा’


0
Shares

ranipokhari

काठमाडौं, साउन २१ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरीमा पानी जम्मा गर्न प्राकृतिक हिसाबले सम्भव सबै उपाय प्रयोग गरिने बताउनुभएको छ ।

प्राधिकरण, पुरातत्व विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका अधिकारी, विज्ञ, अभियानकर्मी र स्थानीयवासीबीच बुधबार भएको अन्तरक्रियामा उहाँले रानीपोखरीमा आकाशेपानी संकलनलाई पहिलो प्राथमिकता दिइएको सुनाउनुभयो ।

रानीपोखरीको पिँध र वरिपरिको पर्खाल पुनःनिर्माण सम्पन्न भएपछि आकाशेपानी जम्मा हुन थालेको छ ।

दरबार हाइस्कुल, त्रिचन्द्र कलेजलगायत क्षेत्रबाट पानी ‘हार्भेस्टिङ’का लागि काम जारी रहेको प्राधिकरणले जनाएको छ ।

विकल्पकारुपमा मात्र टुँडिखेल क्षेत्रमा रहेका इनारको पानी, डिप बोरिङ र मेलम्चीको पानी रानीपोखरीमा हालिनेछ ।

कार्यक्रममा पूर्वसचिव एवं जलस्रोतविज्ञ सुमन शर्माले रानीपोखरी वरिपरिका विभिन्न सार्वजनिक भवनको छतको पानी संकलनलाई प्राथमिकता दिँदै विकल्पमा मेलम्चीको पानी पनि राख्न सुझाव दिनुभयो ।

डिप बोरिङको पानीलाई अन्तिम विकल्पका रुपमा राख्न सकिने उहाँले बताउनुभयो ।

लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक भोजविक्रम थापाले उपत्यकामा पानी वितरण गर्ने पाइप प्रणालीको परीक्षण गर्नेक्रममा मेलम्चीको पानी प्रयोग गर्न सकिने बताउनुभयो ।

सम्पदाविद् सुदर्शनराज तिवारीले आकाशे तथा रानीपोखरी वरिपरिको सतह एवं खेर गएको पानी प्रशोधन गरी पानी प्रयोग गर्न सुझाव दिनुभयो । डिप ट्युबवेल प्रयोग नगर्न पनि उहाँले सुझाव दिनुभयो ।

संरक्षण अभियानकर्मी आलोकसिद्धि तुलाधरले परम्परागत इन्जिनियरिङलाई अवलम्बन गर्न आग्रह गर्दै डिप बोरिङको सट्टा प्राकृतिक उपाय अपनाउँदै पानी भर्न आग्रह गर्नुभयो ।

स्थानीयबासी सुशील श्रेष्ठले पोखरी सफा गर्न दुईओटा निकास राख्न सुझाव दिनुभयो ।

कार्यक्रममा अर्का स्थानीय गणपतिलाल श्रेष्ठले केही समय लागेपनि सम्भव भएसम्मका परम्परागत विधि ब्युँताउने उपायतिर लाग्न आग्रह गर्नुभएको थियो । रासस