१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लकडाउनले प्रभावित अर्थतन्त्र सामान्य अवस्थामा फर्कन कम्तिमा ९ महिना लाग्ने


0
Shares

काठमाडौं । कोरोना भाइरस संक्रमणले संकटग्रस्त बनेको उद्योग व्यावसाय सामान्य अवस्थामा फर्कन कम्तिमा ९ महिना लाग्ने देखिएको छ ।

नेपाल राष्ट्र बैङ्कले हिजो सार्वजनिक गरेको कोरोनाबाट भएको प्रभावको मूल्याङ्कन नतिजाले यस्तो निष्कर्ष निकालेको हो ।

सर्वेक्षणमा सहभागी उद्योग÷व्यवसायीले सामान्य अवस्थामा फर्कन औसतमा करिब नौ महिना लाग्ने बताएका छन् ।

होटल तथा रेष्टुरेन्ट क्षेत्रलाई सामान्य अवस्थामा फर्कन १३ महिना लाग्ने देखिएको छ ।

त्यसैगरी ८२ दशमलव ३ प्रतिशत उद्योग-व्यवसायीले बन्दाबन्दीपछि अहिलेकै व्यवसायलाई निरन्तरता दिने देखिएको भए पनि केहीले व्यवसाय बिक्री वा बन्द गर्न चाहेको समेत देखिएको छ ।

बन्दाबन्दी अवधिमा उद्योग-व्यवसायको उत्पादन ठप्प हुँदा परेको असर कर्मचारी कटौतीसम्म पुगेको केन्द्रीय बैङ्कले स्पष्ट पारेको छ ।

कोभिड–१९ महामारीको कारण एक चौथाइ श्रमिक तथा कर्मचारीको रोजगारी गुमेको छ । कटौती भएकामध्ये अस्थायी र करारका कामदार दुई तिहाइभन्दा धेरै रहेका छन् ।

होटल तथा रेष्टुरेन्ट क्षेत्रले सबैभन्दा धेरै कर्मचारी र कामदार कटौती गरेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकले जेठ २६ गतेदेखि असार १० गतेसम्म गरेको सर्वेक्षणमा ५२ जिल्लाका ६ सय ७४ उद्योगी र व्यवसायीहरू समेटिएका थिए ।