१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वीरगन्जमा सन्नाटा, अवस्था विकराल


0
Shares

coronavirus

अनिल तिवारी (इमेज)

वीरगन्ज, साउन २२ । वीरगन्ज कोरोना संक्रमणबाट संक्रमित हुँदै गर्दा यहाँका मानिसहरुमा समेत सन्नाटा छाउन थालेको छ ।

समुदायस्तमा नै कोरोनाको संक्रमण फैलिएपछि वीरगन्जको अवस्था भयावह हुने त हैन भन्ने आशंका बढ्दै गएको छ ।

तीन महिना लामो ‘लकडाउन’पछि सहज बन्दै गएको वीरगन्जको जनजीवन अहिले झनै भयावह बन्दै गएको छ ।

१२ दिनदेखि लगाइएको निषेधाज्ञा पनि कोरोनाको संक्रमण न्यूनीकणमा खासै राहत ल्याउनसकेको छैन । संक्रमणको भयावह अवस्थासँगै बढेको मृत्युदरले महानगरबासीलाई भयभीत बनाएको छ ।

सूर्य नउदाउँदै राति अबेरसम्म सवारी–साधनको चर्को हर्न सुनिने सहरको बीचभागमा रहेको त्रिभुवन राजमार्ग अहिले चकमन्न छ ।

लक्षणसहितका कोरोनाभाइरस संक्रमित बढ्नेक्रम तीव्र भएपछि वीरगन्जमा सन्नाटा छाएको छ ।

संक्रमणको दर तीव्ररुपमा बढ्दै गएकोले अवस्था विकराल बन्दै गएको नारायणी अस्पतालका डा. निरजकुमार सिंहको अड्कल छ ।

साउनयता पर्सामा ६०० भन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

संघीय सांसद प्रदीप यादवदेखि वीरगन्ज महानगरका प्रमुख विजयकुमार सरावगीलगायत वीरगन्ज नगरपालिकाका कर्मचारी, प्रहरी, सेना स्वास्थ्यकर्मी, कारागारका कर्मचारीमा समेत कोरोना संक्रमण देखिएपछि वीरगन्जमा कोरोनाको कहर बढेको हो ।

तर। केन्द्रीय र प्रदेश सरकार अझैपनि सत्ताको रनभूलमा परिरहेको छ ।

स्थानीय सरकार आफैं संक्रमित भएपछि आउने दिन कहालीलाग्दो अवस्थामा प्रवेश गरेको आँकलन वीरगन्जबासीले गरेका छन् ।

वीरगन्जमा छोटो समयमै १५ जनाको मृत्यु भइसक्दा पनि सरकारको चेत खुल्नसकेको छैन ।

सीमानाका बन्द भएपनि लुकीछिपी वीरगन्ज–रक्सौल आवत–जावत गर्ने गरेका कारण अवस्था चिन्ताजनक बनेको छ ।

अझैपनि सरकारले समयमै कडा कदम नचाल्ने र कानमा तेल हालेर हाइसन्चो मान्ने हो भने वीरगन्जको अवस्था जटिल हुने निश्चित छ ।

भिडियो हेर्नुहोस्