१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देउवा र पौडेलबीच चर्काचर्की


0
Shares

काठमाडौं, साउन २२ । नेपाली कांग्रेसका पूर्वपदाधिकारीसहित देउवा निवास बूढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की परेको छ ।

विभाग गठन र विस्तार रोक्न पौडेलले गरेको आग्रहलाई सभापति देउवाले ठाडै अस्वीकार गरेपछि उहाँहरुबीच चर्काचर्की भएको हो ।

नेता पौडेलले महाधिवेशन प्रभावित हुनेगरी गठन गरेको विभाग खारेज गर्न माग गरेपनि देउवाले केही दिनभित्रै ४७ ओटै विभाग विस्तार गरेर देखाउने जवाफ दिनुभएको थियो ।

बैठकमा सहभागी एक पूर्वपदाधिकारीकाअनुसार देउवाले उपलब्ध ४० प्रतिशतमा नाम नदिए एकल निर्णयमा विभाग गठनलाई अन्तिम रुप दिने जवाफ पौडेललाई दिनुभएको थियो ।

पौडेल समूहले गठन भएको कुनैपनि विभागमा आफ्नो समूहको उपस्थिति नहुने र त्यसलाई स्वीकार नगर्ने अडान राखेको छ ।

देउवाले पार्टी समायोजनलाई सहज बनाउन तीनओटा विभागको नेतृत्व उपसभापति विजयकुमार गच्छदारलाई दिने र बाँकी विभागहरुमा पाँचदेखि सात सदस्य कोटा छुट्ट्याएको जवाफसमेत पौडेललाई दिनुभएको थियो ।

यस्तै, बैठकले १४औं महाधिवेशनमा हाल रहेका करिब पाँच लाख क्रियाशील सदस्यलाई दोब्बरले बढाउने निर्णय पनि गरेको छ ।

बैठकमा केही सहभागीहरुले कारबाहीमा परेका गोविन्दराज जोशीसहित तीनजना नेतालाई पार्टीमा पुनर्बहाली गर्नुपर्ने माग राखेका थिए ।

यस्तै, बैठकमा भ्रातृसंगठनहरुको म्याद छ महिना थप्ने तथा क्रियाशील सदस्यता छानबिन समिति गठन गर्नेलगायतका विषयमा समेत छलफल भएको थियो ।