२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


कुनैपनि गुटमा मेरो संलग्नता छैन : वामदेव


0
Shares

काठमाडौं, साउन २३ । सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र सक्रिय भएको कुनैपनि गुटमा आफ्नो संलग्नता नभएको बताउनुभएको छ ।

गौतमले पार्टीमा सक्रिय तीन गुटमध्ये कुनैमा पनि आफ्नो सक्रियता नभएको दाबी गर्नुभएको हो ।

पार्टीभित्र देखापरेका अन्तरविरोध हल हुन नसक्दा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालको नामका गुट सक्रिय भएको गौतमको तर्क छ ।

आफ्नाबारे भ्रामक प्रचार गरिएको भन्दै शुक्रबार विज्ञप्ति जारी गर्दै गौतमले अध्यक्षद्वयले भेट्न बोलाउँदा आफू जाने गरेको उल्लेख गर्नुभएको छ ।

उहाँले आफूलाई स्वतन्त्र राख्ने कोसिस गरेको भन्दै प्रमाणको रुपमा आफूले केही दिनअघि पार्टीमा राखेको छबुँदे प्रस्तावलाई लिन अनुरोध गर्नुभयो ।

फरक प्रसंगमा गौतमले लगानी बोर्डमा सुशील भट्टलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न प्रधानमन्त्रीसँग आफूले सिफारिस गरेको विषय कपोलकल्पित तथा भ्रामक भएको स्पष्ट पार्नुभएको छ ।

विज्ञप्ति पढ्नोस्

गलत मिडियावाजिको खन्डन
——————————
१. लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका सुशील भट्टलाई उक्त जिम्मेवारीका निम्ति मैले प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको र मेरै जोडमा उनी नियुक्त भएका हुन् भन्ने कपोलकल्पित तथा भ्रामक खबर सवत्र व्याप्त पारिएको छ ।
तर, सुशील भट्ट वा कुनै पनि व्यक्तिको नियुक्तिका निम्ति मैले प्रधानमन्त्री वा कोही व्यक्तिसँग पनि केही भनेको छैन । यो मेरो सरोकार भन्दा बाहिरको विषय हो ।
२. अहिले हाम्रो पार्टीभित्र देखापरेका अन्तरविरोध हलहुन नसग्दा तीन वटा विचार समुह वनेका छन् । यी समुह संग क.केपी ओली, क.पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क.माधवकुमार नेपाल जोडिनु भएको छ। म समुहगत रुपमा यी कसै संग जोडिएको छैन र जोडिन पनि चाहन्न। तर क ओली र क प्रचण्ड ले भेट्न वोलाऊदा म जाने गरेकोछु। सल्लाह सुझाव र राय पनि दिने गरेको छु। मैले आफुलाई स्वतन्त्र राख्ने कोशिश पनि गरेको छु पछिल्लो मैले पार्टीमा राखेको ६ वुदे प्रस्ताव त्यसकै एउटा उदाहरण हो।
३. ‘पार्टी अध्यक्ष’ भनेको केवल व्यक्तिमात्र हुँदैन, त्यो पार्टीभित्रको सर्वस्वीकार्य संस्था हो । त्यसै कारण पार्टी अध्यक्षहरु दुवै वा एक्लै वहाहरुले वोलाउदा मैले भेट्ने गरेको छु। मैले समय–समयमा भेट गरेको वेला क. ओलीकै अगाडि वहांलाई गंभीर आलोचना गर्ने गरेको छु। क . प्रचन्डलाई पनि वहाकै अगाडि वहाको आलोचना गर्ने गरेको छु।
पार्टी अध्यक्ष दुवै वा एक्लै वोलाएको वैठक वा भेला लाई मैले गुट मान्दैन। त्यसो भएर मलाई यो वा त्यो गुट संग संवन्धित गराएर उल्लेख नगरिदिन अनुरोध गर्छु।

वामदेव गौतम
उपाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)