
काठमाडौं, साउन २३ । देशैभर कोरोना संक्रमण बढिरहेको छ । ‘लकडाउन’पछि सरकारले कोरोनाका बिरामी बढेको भन्दै फेरि उपत्यकामा आइतबारबाट लागू हुनेगरी ‘सटडाउन’को तयारीसमेत गरिएको छ ।
कोरोना महामारी फैलिइरहेकै बेला सरकारले २५ जनाभन्दा बढी भेला नहुन तथा औपचारिक कार्यक्रममा समेत रोक लगाएको छ ।
तर, पर्यटनमन्त्री योगेश भट्टराई कोरोना महामारीकैबीच पशुपति क्षेत्र विकास कोषको आधिकारिक वेबसाइट, मोबाइल एप लोकार्पण गर्न पुग्नुभयो । न उहाँलाई कोरोनाको डर लाग्यो, न सरकारको यसअघिको निर्णय पालना गर्न नै आवश्यक ठान्नुभयो ।
शुक्रबार पशुपति क्षेत्र विकास कोषको आधिकारिक वेबसाइट ‘लन्च’ तथा मोबाइल एप लोकार्पण कार्यक्रम राखिएको थियो । सो लोकार्पणका प्रमुख अतिथि हुनुहुन्थ्यो, पर्यटनमन्त्री योगेश भट्टराई ।
कोरोना महामारीकैबीचमा गरिएको यो कार्यक्रममा उपस्थित भने निकै देखिन्थे ।
यसअघि, सामाजिक सञ्जालबाटै मिटिङ तथा कार्यक्रम गर्ने पर्यटनमन्त्री कार्यक्रममा सहभागी भएर भाषणसमेत गर्न थाल्नुभयो ।
त्यतिमात्रै होइन, उहाँले पशुपति क्षेत्रमा रहेका बस्ती हटाउन निर्देशनसमेत दिनुभयो ।
पशुपति क्षेत्रमा कुनै आर्थिक अनियमितता भएको भए तत्काल हटाइनेसमेत विकास कोषका कर्मचारीलाई चेतावनी दिनुभयो ।
पवित्र भूमि वा साँस्कृतिक सम्पदासँग जोडिएका कुनैपनि क्षेत्रमा अतिक्रमण गर्न नपाइने भन्दै भट्टराईले हिजोको दिनमा फर्किएर टाउको उठाउन नहुने भन्दै साँस्कृतिक सम्पदा बचाउनपर्ने जोडदार भाषण दिनुभयो ।
पर्यटनमन्त्रीको कार्यक्रममा सहभागीहरुले मास्क त लगाएका थिए, तर सामाजिक दूरी शून्य ।
उसो त अतिथिकै आसनमा बसेकालाईसमेत सामाजिक दूरीको वास्तै थिएन । मुखमा भएको मास्कमा शतप्रतिशत विश्वास थियो ।
यता, कोरोना संक्रमण बढेको भन्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने कोरोनाको जोखिम उच्च रहेको भन्दै सरकारी तथा निजी कम्पनी तथा कार्यालयमा समेत हुने गरेको औपचारिक कार्यक्रम रोक्न अनुरोध गर्नुभएको छ ।
सरकारलेचाहिँ जनता बचाउनका लागि अनुरोध गर्ने र घरभित्रै बस्न निर्र्देशन दिने । तर, मन्त्रीचाहिँ यो बेला अनलाइनबाटै हुनसक्ने कामलाई पनि आफैं सहभागी हुने अनि औपचारिक कार्यक्रम गर्ने । त्योपनि सामाजिक दूरीबिना नै । यसलाई सर्वसाधारणले के बुुझ्ने ? जिम्मेवार मानिस कहिलेसम्म बन्ने गैरजिम्मेवार ?
प्रतिक्रिया दिनुहोस्