
काठमाडौं । धेरैका लागि लकडाउन शुभ रहेन । तर, गीतकार डिआर उपाध्यायका लागि भने यो लकडाउन निक्कै फलदायी रह्यो ।
कारण उनले यहि लकडाउनको समयमा लेखेका १७ गीतले एकै पटक कीर्तिमान कायम गरेका छन् ।
आईतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले डा.उपाध्यायलाई विश्व रेकर्डका १७ वटा प्रमाण पत्र प्रदान गरे ।
प्रमाणपत्र प्रदान गरे लगत्तै मन्त्री यादवले डा. उपाध्यायको कामले आफू हर्षित भएको उल्लेख गरे ।
डा. उपाध्यायले यसअघि पनि गीत संगीतका विभिन्न काम गरेर पटक पटक गरी १५ वटा विश्व रेकर्ड कायम गरिसकेका थिए । आइतबार एकै पटक विश्व रेकर्डका १७ प्रमाणपत्र प्राप्त गरेका हुन् ।
उनले गीतसंगीतमा सामाजिक सद्भावका गीत, हरेक शब्दमा फरक फरक गायक गायिकाको स्वर समावेश गर्ने लगायतका १७ प्रयोग गरेका कारण विश्व कीर्तिमानी कायम गरेका हुन् ।
म रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले विश्वमै एकैपटक यति धेरै विश्व रेकर्ड राख्ने डा. उपाध्यायनै पहिलो ब्यक्ति भएको भन्दै प्रशंसा गरेका छन् ।
डा. उपाध्यायले समाजमा भैरहेका कुरालाई फरक तरिकाले प्रस्तुत गरौं भन्ने उदेश्यले अभिप्रेरित भै काम गरेको बताए ।
उपाध्यायले संसारकै सानो गीति पुस्तर सार्वजनिक गरेका छन् । उपाध्यायलाई विश्व रेकर्ड राख्ने काममा संगीतकार सन्तोष श्रेष्ठ र सागर अधिकारीले साथ दिएका छन् ।
डा. उपाध्यायले आफूले गीत विश्व रेकर्डका लागि भन्दा पनि समाजका लागि लेखेको बताएका छन् ।
तर, समाजमा पनि अरुले गरेभन्दा फरक गरौं भन्ने सोचले आफ्नो काम विश्व रेकर्डमा लेखिन सफल भएको उपाध्यायले बताए ।
२०७५ साल असार ८ गते पहिलो एल्बम ‘प्रणय’ एल्बमबाट सुरु भएको डीआर उपाध्यायको सांगीतिक यात्राले ३२ विश्व रेकर्ड कायम गरेको छ ।
डा.उपाध्यायले सबै वर्ग, पेशा र समुदायका लागि गीत लेखेका छन् । गीतमा हरेक चाडपर्वलाई समावेश गरेका छन् ।
उनका गीतमा प्रेम, रोमान्स, यातना, भावना तथा वैभव सबै कुरा अटाएका छन् ।
प्रतिक्रिया दिनुहोस्