२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


‘खसी बा’ अर्थात खेमप्रसादको लोभलाग्दो ब्यावसाय: बेरोजगार र विदेशबाट फर्किएका युवालाई पाठ(भिडियो)


52
Shares

-जितेन्द्र भण्डारी/ईमेज
पाँचथर । इच्छा भए उमेरले छेक्दैन भन्ने उदाहरण बनेका छन् पाँचथरका ६० वर्षीय सेवानिवृत्त शिक्षक खेमप्रसाद न्यौपाने ।

व्यवसायिक बाख्रा पालन गरेर गाउँका बेरोजगार युवाहरुलाई समेत कृषि र पशुपालन क्षेत्रमा लाग्न प्रेरित गर्ने उनलाई जिल्लामै ‘खसी बा’ को रुपमा चिन्न थालिएको छ ।

पाँचथरको सदरमुकाम फिदिम बाट पाँच किलोमिटर टाढा, घनाजंगलको बाटो हुदै करिव २० मिनेटको पैदल यात्रापछि न्यौपाने अर्थात ‘खसी बा’को बाख्रा फार्म पुगिन्छ ।

बाख्रा फार्म निकै ठूलो छ । जहाँ जस्तापाता, काठ, ढुंगा र माटो प्रयोग गरी बनाइएको चिटिक परेको घर । छेवैमा ग्वाली भित्र डल्ली गाई ।

जस्ता पाताबाट बनाइएको छाना, काठकै पिलर र बाराबेरी गरेर बनाइएको व्यवस्थित बाख्रा फार्म नपुग्ने कृषक कम नै हुन्छन् ।

शारीरिक रुपले अशक्त । पेशाले दुई दशक शिक्षण गरी सेवानिवृत भएपछि अहिले न्यौपाने ब्यवसायिक बाख्रा पालनतर्फ होमिएका हुन ।

उनी उमेरले ६० काटीसकेका छन् । अहिले आफ्ना सन्तान, बेरोजगार युवा र विदेशबाट फर्किएका युवाले पनि सिकुन भन्ने उनको ध्येय छ । चरनको राम्रो संभावना भएकाले उनले जंगलको बीचमा बाख्रापालन गरेका हुन् ।

अहिले उन्को बाख्रा फार्ममा खसी बोका, माउबाख्रा, पाठापाठी छन् । उनले पालेका खसी खाईलाग्दा र चिल्ला छन् । मकै, खोले र पोषिलो घाँस खाएर चरेका खसी अन्यत्रका भन्दा राम्रा छन् ।

ब्यवसायिक रुपमा कृषि र बाख्रा पालन गर्ने कृषकलाई राज्यको पनि आँखा पुगोस भन्ने उनको चाहाना छ ।

शिक्षण पेशाबाट सेवानिवृत भएपछि त्यतिकै बस्न उनको मनले नमानेपछि कृषि पेशलाई रोजेका हुन ।

बाबु नै बाख्रा फार्ममा लागेपछि उनलाई तीनभाई छोराले सहयोग गरिरहेका छन् । बाख्रा फार्ममा घाँस खोले गर्न पाउँदा उनकी श्रीमतीसमेत मक्ख छिन् । बिदेशिएका उनका छोरालाई पनि उनले आफ्नै इलममा लाग्ने बाटो देखाएका छन् ।

विदेशमा बगाउने पसिना स्वदेशमै बगाउन सके विदेशमा कमाउने भन्दा राम्रो कमाउन सकिन्छ भन्ने उदाहरण स्वयं उनी बनेका छन् ।

न्यौपानेले अहिलेसम्म बाख्राफार्म निर्माण गर्न सात लाख रुपैया भन्दा बढी खर्च गरिसकेका छन् ।

उनको कर्मको मूल्याङकन गर्दे स्थानीय सरकारले समेत अब कृषि र पश ुपालनतर्फ लगानी गर्ने भएको छ ।

‘खसी बा’ले पालेका खसी धेरैजसो पाँचथर, इलाम र झापाका बजारसम्म पुग्न गरेका छन् ।

त्यसैले बेरोजगार नबसी इलम गरे आत्मनिर्भर बन्न सकिन्छ भनेर उन्ले यहाँका युवाहरुलाई सिकाएका छन् ।

सरकारले पनि उनलाई सहयोग गरे अरु कृषकहरु पनि कृषि व्यवसायतर्फ आकर्षित हुने थिए ।

भिडियो