१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रत्यायोजित व्यवस्थापन समितिद्वारा तीनओटा उपसमिति गठन


0
Shares

काठमाडौं, साउन २६ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काम–कारबाहीलाई व्यवस्थितरुपमा सम्पादन गर्न तीनओटा उपसमिति गठन गरेको छ ।

सोमबार बसेको समितिको बैठकमा सभापति रामनारायण विडारीले कोभिड रोकथाम तथा नियन्त्रणका लागि काम गर्न अप्ठेरो भएको अवस्थामा समितिका कार्यहरु व्यवस्थित र प्रभावकारीरुपले सम्पादन गर्न उपसमिति गठन गरिएको बताउनुभयो ।

राष्ट्रियसभा नियमावलीको नियम १५२ बमोजिम विभिन्न कार्यादेश र कार्यावधि भएको उपसमितिहरु गठन गरिएको उहाँले बताउनुभयो ।

समितिले प्रत्यायोजित व्यवस्थापन उपसमिति, सरकारी आश्वासन उपसमिति र राष्ट्रिय महत्वका दस्तावेज अभिलेख संरक्षण उपसमिति गठन गरेको हो । सबै समितिको कार्यावधि तीन महिनाको रहेको छ ।

प्रत्यायोजित व्यवस्थापन उपसमितिमा संयोजक राधेश्याम अधिकारी र सदस्यहरुमा अगमप्रसाद वान्तवा राई, नरपति लुवार र नैनकला ओझा रहनुभएको छ ।

यस्तै, सरकारी आश्वासन उपसमितिमा संयोजक शेरबहादुर कुँवर र सदस्यहरु विना पोखरेल, शान्तिकुमारी अधिकारी जिसी र हरिराम चौधरी रहनुभएको छ ।

राष्ट्रिय महत्वका दस्तावेज अभिलेख संरक्षण उपसमितिमा संयोजक समिति सभापति रामनारायण विडारी र सदस्यहरु गोपाल भट्टराई, चन्द्रबहादुर खड्का, तुलसाकुमारी दाहाल र सुमित्रा बिसी रहनुभएको छ ।

कोभिड–१९ संक्रमणको अवस्था बढ्दै गएकाले समितिको बैठक १५ दिनसम्म नबस्ने भएको छ ।

सभापति विडारीले १५ दिनपछिको स्थिति हेरेर बैठक बस्ने वा नबस्ने निर्णय हुने बताउनुभयो ।