
काठमाडौं, साउन २६ । काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावश्यकबाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन् ।
उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार बसेको बैठकले तीन हप्ताका लागि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।
बैठकले सार्वजनिक यातायात पूर्णरुपमा सञ्चालन भएपछि कोरोना संक्रमण तीव्रगतिमा फैलिएको भन्दै सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
उद्योग तथा कलकारखानाभित्रै ‘क्वारेन्टिन’को व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पूरा गरेपछिमात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
सामाजिक सुरक्षा भत्ता प्रयोजनको लागि नवीकरण गर्ने म्याद साउन मसान्तसम्म रहेकोमा असोज मसान्तसम्म कायम गर्न सरकारलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यस्तै, उपत्यका प्रवेश गर्ने नाकाहरुमा कडाइ गर्न सरकारलाई अनुरोध गर्ने निर्णयसमेत फोरमले गरेको छ ।
र्याली, भेला, अनशन, जुलुुसलगायतका गतिविधि गर्न कडाइका साथ निषेध गर्ने र भिड हुने साँस्कृतिक गतिविधि, जात्रा, पर्व सञ्चालनमा रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय पनि भएको छ ।
यस्तै, मास्क नलगाइ आवत–जावत गर्न तथा मास्कलाई उपयुक्तरुपमा प्रयोग नगर्नेहरुलाई कारबाही गर्ने विषयमा समन्वय गर्ने निर्णय पनि फोरमले गरेको छ ।
व्यापारिक क्षेत्र तथा सपिङ महलहरु, होटल, रेस्टुरेन्ट आदि कोभिड–१९ संक्रमणको उच्च जोखिमयुक्त क्षेत्र रहेकोले उच्च सतर्कता मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्ने र सोको नियमित अनुगमन गरी कारबाही गर्ने निर्णयसमेत भएको छ ।
अनाधिकृतरुपमा उपत्यका प्रवेश गरेका निर्माणकार्यका मजदुर, ठेलागाडा, साइकल, फुटपाथ, तरकारी व्यापार गर्न आएकाहरु बढी देखिएको भन्दै तरकारी व्यापारलाई साँझ–बिहानमात्र सञ्चालन गर्न दिने र निर्माणकार्य, फुटपाथ, ठेलागाडा, साइकलमार्फत् गरिने व्यापारलाई आउँदो भदौ १५ गतेसम्मका लागि निषेध गर्ने निर्णय पनि बैठकले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्