१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बैतडीमा कोरोना संक्रमितको संख्या ३२२ पुग्यो, १५ जनामात्रै सक्रिय संक्रमित


0
Shares

corona

विनोदसिंह विष्ट (इमेज)

बैतडी, साउन २६ । बैतडीमा कोरोना संक्रमितको संख्या ३२२ पुगेको छ ।

जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर–३ का २४ वर्षीय पुरुषमा सोमबार कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ३२२ पुगेको हो ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषमा संक्रमण पुष्टि भएको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले जानकारी दिनुभयो ।

संक्रमित पुरुष भारतको बेंगलोरबाट फर्किएपछि १७ दिनयता ‘होम क्वारेन्टिन’मा बसिरहनुभएको छ । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

जिल्लामा सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकाका ६० जना, शिवनाथ गाउँपालिकाका ५०, दोगडाकेदार गाउँपालिकाका ४३, सिगास गाउँपालिकाका ४०, दशरथचन्द नगरपालिकाका ३५, मेलौली नगरपालिकाका २८, सुर्नया गाउँपालिकाका २६, पाटन नगरपालिकाका २४, पुर्चौंडी नगरपालिकाका नौ र डिलाशैनी गाउँपालिकाका सातजनामा संक्रमण पुष्टि भएको छ ।

१५ जनामात्रै सक्रिय संक्रमित
बैतडीमा १५ जनामात्रै कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

कुल ३२२ संक्रमितमध्ये ३०७ जना ‘डिस्चार्ज’ भइसकेको स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।

सुर्नया गाउँपालिकाका १२ जना, मेलौली नगरपालिकाका एकजना र दशरथचन्द नगरपालिकाका एकजना संक्रमित ‘आइसोलेसन’मा छन् । एकजना कोरोना संक्रमित गर्भवतीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।