१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


यो वर्ष सरकारले चार अर्ब रुपैयाँ बराबरको खाद्यान्न खरिद गर्ने


0
Shares

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालू वर्षमा चार अर्ब रुपैयाँ बराबरको एक लाख टन खाद्यान्न खरिद गर्ने भएको छ ।

खाद्यान्नको मौज्दात राख्न, व्यावसायिक कारोबार गर्नुका साथै दुर्गम जिल्लामा खाद्यान्न आपूर्ति गर्नका लागि चार अर्ब रुपैयाँ बराबरको १ लाख ६ सय ७० टन खाद्यान्न खरिद गर्न लागेको कम्पनीले जनाएको छ ।

बजारमा खाद्यान्न आपूर्ति व्यवस्थालाई सहज बनाउनका लागि एक लाख टन खाद्यान्न खरिद गर्न लागेको पनि कम्पनीले जनाएको छ ।

उपभोक्तालाई सहुलियदरमा खाद्यान्न वितरण गर्नका लागि कम्पनीले ठूलो परिणाममा खाद्यान्न खरिद गर्न लागेको कम्पनीका नायव महाप्रवन्धक श्रीमणिराज खनालले जानकारी दिनुभयो ।

बजारमा सहुलियतदरमा खाद्यान्न वितरण गर्नका लागि एक लाख टन खाद्यान्न खरिद गर्न लागिएको उहाँले बताउनुभयो ।

कम्पनीले विभिन्न जिल्लाबाट खाद्यान्न खरिद गर्ने तयारी गरेको छ । कम्पनीले यो वर्ष १ अर्ब ७९ करोड ३१ लाख ५५ हजार रुपैयाँ बराबरको ६० हजार टन धान खरिद गर्न लागेको छ ।

कम्पनीले १५ करोड ५८ लाख रुपैयाँ बराबरको पाँच हजार टन गहुँ खरिद गर्ने भएको छ । ७३ करोड रुपैयाँ बराबरको १० हजार टन चिनी र दुई करोड ४७ लाख रुपैयाँ बराबरको दुई सय टन सिमी खरिद गर्न लागिएको छ ।

यस्तै ९८ लाख ८० हजार रुपैयाँ बराबरको एक सय टन मुसुरोको दाल, एक करोड ४४ लाख ६० हजार रुपैयाँको रहरको दाल खरिद गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।

यस्तै २३ लाख रुपैयाँ बराबरको एक सय लिटर तोरीको तेल, १६ लाख ५० हजार रुपैयाँ बराबरको सनफल्आवर तेल खरिद गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।

७१ लाख २५ हजार रुपैयाँ बराबरको ५० टन मासको दाल र १८ लाख रुपैयाँ बराबरको २० टन भटमास खरिद गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।