
काठमाडौं, साउन २७ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुको ‘मति सप्रियोस्’ भन्दै कृष्ण जन्माष्टमीको शुभकामना दिनुभएको छ ।
उहाँले पार्टीभित्र र बाहिरबाट मति बिग्रिएकाहरुले कोभिड–१९ रोकथाम तथा नियन्त्रणको कार्यमा आलोचना गरेका भन्दै सबैको मति सप्रियोस् भन्ने शुभकामना दिनुभएको हो ।
मंगलबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री ढकालले मति बिग्रिएर सरकारको आलोचना गर्ने सबैलाई महामारीविरुद्ध लडन मति सप्रियोस् भन्दै शुभकामना दिनुभयो ।
स्वास्थ्यमन्त्री ढकालले महामारीबाट बाँचियो भने सत्ताको लडाइँ फेरिपनि खेल्न सकिने भन्दै सरकारलाई सघाउन नेताहरुलाई आग्रह गर्नुभयो ।
सरकारलाई जनताले पाँच वर्षको ‘म्यान्डेट’ दिएकाले पाँच वर्षपछि नै सत्ताको खेलमा लाग्नसमेत उहाँले आग्रह गर्नुभयो ।
अहिलेसम्म ‘पीपीई’ र ‘पीसीआर’को ‘गीत’ आएको र अब ती चल्न छाडेपछि औषधि र भेन्टिलेटरका गीत आउने उहाँले बताउनुभयो ।
जस्तोसुकै गीत आएपनि त्यसको जवाफ सरकारले सिद्धान्तबाट नभइ व्यवहारबाट दिने प्रष्ट पार्नुभयो ।
मन्त्री ढकालले नेपालमा अहिलेपनि संक्रमणको स्थिति नियन्त्रणभित्रै रहेको दाबी गर्दै आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो ।
अन्य मुलुकहरुको तुलनामा पनि नेपालमा संक्रमण नियन्त्रणका लागि गरिएका कार्यहरु प्रभावकारी भएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्