१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना नियन्त्रणमा काठमाडौं महानगरपालिकाको भूमिका शून्य


0
Shares

kathmandu

प्रज्ञा तिमल्सिना र दिलिप पोखरेल (इमेज)

काठमाडौं, साउन २७ । कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै गएको काठमाडौंमा संक्रमण नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले उल्लेख काम केही गर्न सकेको छैन ।

महानगरपालिकाका कर्मचारी भने स्वास्थ्य मन्त्रालय र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा हावी भएका कारण आफूहरुले काम गर्न नपाएको गुनासो गर्छन् ।

महानगरपालिका र मन्त्रालयबीच समन्यय नहुँदा संक्रमण भने नियन्त्रणबाहिर पुग्ने अवस्था आउनसक्ने देखिएको छ ।

कोरोना संक्रमण नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाको भूमिका निकै शून्य देखिएको छ ।

संक्रमितको संख्या देखिँदै गर्दा वैशाख र जेठमा काठमाडौंका केही वडामा परीक्षण गराउन सुरु गरेको महानगर हाल जिम्मेवारीविहीनजस्तै देखिएको छ ।

यस्तो संक्रमण नियन्त्रणमा केन्द्र, प्रदेश र स्थानीय सरकारको भूमिका उत्तिकै रहन्छ । तर, काठमाडौंको हकमा भने केन्द्र सरकार बढी हावी भएको र स्थानीय सरकार मौन देखिन्छ ।

केही वडाहरुले भने जिल्ला प्रशासन कार्यालयसँग समन्यय गरी संक्रमित बढी भेटिएका स्थानमा ‘सिल’ गर्ने गरेका छन् ।

उपत्यकाबाहिर संक्रमण बढी देखिएका जिल्लाहरुमा भने स्थानीय सरकारले ‘लकडाउन’ र सिल गर्ने गरेको छ ।

स्वास्थ्य मन्त्रालय र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा नै हावी भएका कारण महानगरले केही काम गर्न नसकेको कर्मचारीको गुनासो छ ।

महानगरको सहरी स्वास्थ्य तथा खाद्यपदार्थ नियमन महाशाखाका निर्देशक नरेन्द्र बज्राचार्यले महानगरले हाल ‘कन्ट्याक्ट ट्रेसिङ’मात्र गर्ने गरेको बताउनुभयो ।

‘संक्रमण देखिएका स्थानमा सुरु–सुरुमा परीक्षण गरेका थियौं । अब त सबैतिर परीक्षण गरेरपनि नसकिने अवस्था आएको’ उहाँको भनाइ छ ।

फेरिपनि संक्रमण देखिएका वडामा कन्ट्याक्ट ट्रेसिङ भने गरिरहेको बज्राचार्यले दाबी गर्नुभयो ।

महानगरले हालसम्म ६०० जनाको कन्ट्याक्ट ट्रेसिङ.गरेको छ । निर्देशक बज्राचार्यले १० ओटा टिम बनाएर कन्ट्याक्ट ट्रेसिङ गर्न पठाउने र सोहीअनुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले परीक्षण गर्ने गरेको बताउनुभयो ।

आफूहरुलाई प्रदेश स्वास्थ्य निर्देशनालयले निर्देशन दिनुपर्ने हो । तर, निर्देशनालय नै कहाँ–के गर्दैछ भन्ने थाहा नभएको उहाँले जिकिर गर्नुभयो ।

काठमाडौंमा संक्रमण नियन्त्रण गर्न तीन तहका सरकारबीच समन्वय हुन नसकेको उहाँले स्वीकार्नुभयो ।

संक्रमण देखिएको पाँच महिनासम्म सुस्ताउनुभएका महानगपालिकाका मेयर विद्यासुन्दर शाक्य अहिले आएर भने काठमाडौं छिर्ने नाकाहरु सिल गर्न जोड दिन थाल्नुभएको छ ।

नाकामा कडाइ गराउन आफूले बारम्बार भन्दापनि सरकारबाट सुनुवाइ नभएको उहाँको भनाइ छ ।

नगरपालिकाहरुको फोरमले सबै नाकालाई सिल नगरेसम्म उपत्यकाभित्र संक्रमण नियन्त्रणमा नआउने निचोड निकालेको छ ।

उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा धेरै काठमाडौंमा संक्रमित भेटिएका छन् । ४० लाख हाराहारी जनसंख्या रहेको उपत्यकामा एक हजारमाथि संक्रमितको संख्या पुगिसकेको छ ।

यस्तो अवस्थामा एक–अर्कालाई दोष दिने र जिम्मेवारी पन्छाउनेभन्दा तीन तहका सरकारबीच आपसी समन्वय बढाएर अघि बढ्नु जरुरी देखिन्छ । नत्र संक्रमण नियन्त्रणबाहिर पुग्नसक्छ । यसतर्फ सबैको बेलैमा ध्यान जान आवश्यक छ ।

भिडियो हेर्नुहोस्