१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सीमा विवाद पछि पहिलो पटक नेपाल र भारतबीच छलफल हुने


0
Shares

काठमाडौं । कालापानी, लिम्पियाधुरा, लिपुलेकको विषयमा विवाद भएपछि पहिलो पटक भारतको नेपालसँग छलफल हुने भएको छ ।

सीमा विवादसँगै स्थगित भएको दुवै देशको कुटनीतिक विवाद समाधानका लागि संवादहिनको अवस्था जारी रहेका बेला आगामी हप्ता छलफल हुन लागेको हो ।

नेपालमा भारत सरकारको सहयोग वा सहकार्यमा सञ्चालन भएका परियोजनाहरुको मूल्यांकन गर्नका लागि आउँदो हप्ता दुई देशका अधिकारीबीच छलफलको तयारी भएको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।

काठमाडौँमा हुने छलफलमा परराष्ट्र सचिव शंकरदास वैरागीको नेतृत्वमा भारतीय पक्षसँग छलफल हुने बताइएको हो ।

कोरोना भाइरसको महामारीका कारण सो बैठक भिडियो कन्फ्रेन्समार्फत हुने सम्भावना रहेको छ ।

औपचारिक रुपमा बैठकको मिति घोषणा नभए पनि अगस्त १८ अर्थात भदौ २ गते गर्ने तयारी रहेको स्रोतलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले जनाएको छ ।

भारतको सहयोगमा नेपालको तराई क्षेत्रमा सडक तथा रेल मार्ग निर्माण भइरहेको छ भने भूकम्पपछिको पुनर्निर्माण, प्रहरी प्रशिक्षण एकेडेमी, पोलिटेक्निक कलेज तथा पाइपलाइन निर्माणको काम पनि भइरहेको छ ।

परियोजनाहरुको मूल्यांकनका लागि सन् २०१६ मा गठन गरिएको संयुक्त समितिको बैठक पछिल्लो पटक सन् २०१९ को जुलाइमा भएको थियो ।