
काठमाडौं, साउन २८ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी भदौ १ गते सोमबारदेखि तय भएको नेपाली टिमको प्रशिक्षण स्थगित गरेको छ ।
एसियाली फुटबल महासंघ (एएफसी)ले विश्वकप र एसियाली कप छनोटका बाँकी खेलहरु सन् २०२१ सम्मका लागि स्थगित गरेसँगै एन्फाले प्रशिक्षण पनि स्थगित गरिएको जनाएको हो ।
एन्फा प्रवक्ता किरण राईले एएफसीको पत्र पाएपछि सोमबारदेखि गर्ने भनिएको प्रशिक्षण पनि स्थगित गरिएको जानकारी दिनुभयो ।
एएफसीले असोज र कात्तिकमा तय गरेका छनोट खेलहरु बढ्दो कोरोनाभाइरसको महामारीका कारण स्थगित गरेसँगै एन्फा पनि प्रशिक्षण रोक्न बाध्य भएको हो ।
यसअघि, नेपाल सरकारले अन्य खेलकुदका गतिविधि ठप्प पारेपनि फुटबलको प्रशिक्षण गर्न भने अनुमति दिएको थियो ।
सोअनुसार ३४ फुटबल खेलाडीसहित ५४ जनाको सोमबार र मंगलबार स्वाबसमेत परीक्षण गरिएको थियो ।
एन्फाले सातदोबाटोस्थित मुख्यालय ‘सिल’ गरेर एन्फा होस्टलमा ५४ जनामात्र राखेर खेलाडीहरुलाई दैनिक तीन चरणमा नियमित प्रशिक्षण दिने योजना बनाएको थियो ।
नेपालले आउँदो असोज २२ गते चाइनिज ताइपेईसँग र त्यसको पाँच दिनपछि अष्ट्रेलियासँग तथा कात्तिक २७ गते जोर्डनसँग दशरथ रंगशालामा खेल्ने तालिका थियो ।
प्रतिक्रिया दिनुहोस्