१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं उपत्यकामा ‘कन्ट्याक्ट ट्रेसिङ’ फितलो, ‘हटस्पट’ बन्ने खतरा


0
Shares

corona kathmandu

मीरा बस्नेत (इमेज)

काठमाडौं, साउन २८ । सरकारले बन्दाबन्दी खुलाएको घोषण गरेसँगै पछिल्लो समय काठमाडौं उपत्यकामा भित्रिने व्यक्तिको संख्यामा वृद्धि भएको छ । योसँगै कोरोना संक्रमित पनि बढ्दै गएका छन् ।

संक्रमितको संख्या बढ्दा सरकारले गरिरहेको संक्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’ भने फितलो भएको विज्ञहरु बताउँछन् ।

साउन ७ गते सरकारले बिनातयारी ‘लकडाउन’ अन्त्य भएको घोषणा गरेपछि काठमाडौं उपत्यकामा कोरोना संक्रमण दिनानुदिन बढिरहेको छ ।

पछिल्लो २१ दिनमा मात्र उपत्यकामा संक्रमितको संख्या एक हजार नाघेको छ । काठमाडौंमा ११ सय ६९, भक्तपुरमा १०४ र ललितपुरमा १८० गरी १४ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ ।

यो तथ्यांकले काठमाडौं उपत्यका कति जोखिममा छ, देखाउँछ । तर, लकडाउन अन्त्यसँगै शंकास्पद संक्रमित पत्ता लगाउन गरिरहेको कन्ट्याक्ट ट्रेसिङ अन्त्यजस्तै भएको छ ।

जोखिम बढ्दै जाँदा कन्ट्याक्ट ट्रेसिङ बढाउँदै जानुपर्नेमा झन् सुस्त हुँदै गएको विज्ञहरु बताउँछन् ।

कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी नहुँदा उपत्यकामा कोरोना संक्रमणले भयावह रुप लिन थालेकोे विज्ञहरुको ठहर छ ।

सुरुका दिनमा नौजनामा संक्रमण देखिँदा ट्रेसिङलाई प्राथमिकता दिएको सरकार अहिले संक्रमित बढ्दा भने अलमलमा परेको छ ।

संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्ति पनि परीक्षणको दायमा अट्न सकेका छैनन् ।

कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी नभएको जनगुनासो बढेपछि सरकारले गत वैशाखमा जनस्वास्थ्य अधिकृत, ल्याब प्रयोगशालाका व्यक्ति, नर्स गरी तीन सदस्यीय टोलीसमेत गठन गरेको थियो ।

हरेक गाउँपालिकामा एउटा समूह, नगरपालिकामा दुईओटा, उपमहानगरपालिकामा तीनओटा र महानगरपालिकामा पाँचओटा टोली परिचालन गरिएको थियो ।

काठमाडौं महानगरपालिकाले हालसम्म काठमाडौमा मात्र ६०० भन्दा बढीको कन्ट्याक्ट ट्रेसिङ गरेको बताएपनि बन्दाबन्दी अन्त्य भएपछि कतिजनाको ट्रेसिङ भयो भन्ने यकिन तथ्यांकसमेत छैन ।

उपत्यकाको चहलपहल पहिलाकोजस्तै छ । यस्तो अवस्थामा कन्ट्याक्ट ट्रेसिङ थप जटिल हुने विज्ञहरु बताउँछन् ।

संक्रमित भेटिएपछि उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको ट्रेसिङ झनै महत्वपूर्ण पाटो हो ।

तर, बन्दाबन्दीको अन्त्यसँगै कन्ट्याक्ट ट्रेसिङलाई बेवास्ता गर्दा काठमाडौं उपत्यका पनि कोरोनाको ‘हटस्पट’ बन्ने खतरा देखिएको छ ।

भिडियो हेर्नुहोस्