
काठमाडौं, साउन २८ । सांसदहरुले नेपालको अद्यावधिक नक्सा जारी गरेपनि सरकारले वास्तविक सीमा समस्या समाधानका लागि गम्भीरता नदेखाएको आरोप लगाएका छन् ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बुधबार भएको छलफलमा उनीहरुले भारतसँगको वास्तविक सीमा समस्या समाधानका लागि सरकारले गम्भीरता नदेखाएको आरोप लगाएका हुन् ।
‘स्ट्रिप’ नक्साको बलमा भारतले कञ्चनपुर जिल्लामा नेपालीले भोगचलन गर्दै आएको भूमि अतिक्रमण गरेको विषयमा भएको छलफलमा सांसदहरुले यस्तो आरोप लगाएका हुन् ।
सांसद देवेन्द्रराज कँडेलले जारी भएको नयाँ नेपालको नक्सामा कञ्चनपुरको अतिक्रमित भूमि समेटिएको छ कि छैन ? भन्ने प्रश्न गर्नुभयो ।
सांसद रामसहायप्रसाद यादवले सीमासम्बन्धी वास्तविक काम कति सम्पन्न भयो भन्ने तथ्यांक सम्बन्धित मन्त्रालयलगायत सरोकारलाहरुसँग छ कि छैन ? भन्ने आशंका व्यक्त गर्नुभयो ।
सांसद नरबहादुर धामीले सीमा रक्षाकाक्रममा गोविन्द गौतमको हत्या भएको घटनामा अनुगमन गर्न चुकेको सरकार जग्गाधनी पुर्जासमेतको भूमि भारततर्फ जाँदा पनि गम्भीर नभएको बताउनुभयो ।
सांसद रेखा शर्माले दीर्घकालीनरुपमा सीमा समस्या समाधान गर्ने बाटोतर्फ सरकार अग्रसर हुनुपर्ने बताउनुभयो ।
बैठकमा भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले अद्यावधिक नक्सामा कञ्चनपुरको अतिक्रमित भूमि पनि समेटिएको बताउनुभयो ।
स्ट्रिप नक्सा दुई देशको सहमतिमा खारेज हुने प्रावधान रहेको उल्लेख गर्दै भारतको केही भूमि नेपालतर्फसमेत रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्