१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


युवाको ज्ञान, सीप र क्षमतालाई सरकारले उपयोग गर्छ : प्रधानमन्त्री


0
Shares

kp oli

काठमाडौं, साउन २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका लागि युवा विदेशिनुपर्ने बाध्यताको अन्त्य गरिने बताउनुभएको छ ।

राष्ट्रिय युवा परिषद्ले बुधबार काठमाडौंमा अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना गरेको ‘भर्चुअल’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केही वर्षभित्र रोजगारीका लागि विदेशिनुपर्ने बाध्यताको अन्त्यका लागि सरकारले रणनीति बनाइरहेको बताउनुभयो ।

‘छनोटका हिसाबले बाहिर जाने कुरा बैग्ले हो । देश निर्माण गर्ने शक्ति बाहिर जाने खुसीको कुरा होइन’–उहाँले भन्नुभयो–‘तर, बाध्यताका हिसाबले बाहिर जाने अन्त्य गर्ने रणनीतिका साथ काम गरिरहेका छौं । चाँडै नै ठोस योजना ल्याउने छौं ।’

उहाँले सीप र जोस–जाँगर भएको बेला रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै युवालाई स्वदेशमा नै पर्याप्त रोजगारीका अवसर सिर्जना गरिने बताउनुभयो ।

उहाँले युवाको विकास, रोजगारीको अवसर, ज्ञान, सीप र क्षमता देशभित्र नै भरपुर प्रयोग गरेर मुलुकलाई अगाडि बढाउने बताउनुभयो ।

उहाँले युवा देश विकासको सहयात्री भएकाले उनीहरुको जुन क्षेत्रमा रुचि र ज्ञान छ, सोही क्षेत्रमा उपयोग गरिनेसमेत बताउनुभयो ।

‘नवप्रवर्तनकारी, ज्ञान, सीप भएको सिर्जनशील समयमा युवाले बाहिर गएर बिताउन नपरोस्’–उहाँले भन्नुभयो–‘आफ्नै देशको विकासमा श्रम खर्च गर्न सकियोस् । अनिमात्र नेपाल आत्मनिर्भर, विकसित देश बन्नेछ ।’

प्रधानमन्त्री ओलीले देश विकासका आधारमा युवालाई प्रयोग गर्न नसकिएको उल्लेख गर्दै अब खोज, अनुसन्धानमा नयाँ युवा पिँढीलाई अगाडि बढाइनेसमेत धारणा राख्नुभयो ।

उहाँले युवालाई निराश नबनाइ उनीहरुले देखेका सुन्दर सपना साकार पार्न सरकारले सहयोग गर्ने उल्लेख गर्नुभयो ।

उहाँले कोभिड–१९ महामारीलाई पराजित गरी दिगो विकासको लक्ष्यलाई पूरा गर्न सरकार लागिपरेको पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि युवा पिँढी नै आवश्यक रहेको बताउनुभयो ।

उहाँले युवालाई कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न र सबैलाई स्वास्थ्यका मापदण्ड पालना गराउन आग्रह गर्नुभयो ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले युवामा भएको ज्ञान र सीपलाई श्रमसँग जोडेर उत्पादनशील बनाइने बताउनुभयो ।

उहाँले युवा उद्यमशीलता भएमात्र मुलुकको समृद्धि हुने भन्दै युवालाई स्वरोजगार र उद्यमीलता बनाउने अभियानमा सरकार रहेको बताउनुभयो ।

उहाँले आफ्नो टोल–छिमेकमा युवा सहभागी भएर कोभिड–१९ रोकथाम र नियन्त्रणमा भूमिका खेल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेलले हरेक क्षेत्रको नेतृत्व युवाले गर्नेगरी युवामा विकास गरिने बताउनुभयो ।

उहाँले सात प्रदेशमा युवामा भएको ज्ञान र सीप प्रस्फुुटन गराउन युवा नवप्रवर्द्धन केन्द्र स्थापना गर्न थालिएको बताउनुभयो ।

उहाँले सहुलियपूर्ण कर्जा प्रवाह गरेर यस वर्ष ८० हजार युवालाई स्वरोजगार बनाउन थालिएको जानकारी दिनुभयो ।

उपाध्यक्ष ढुंगेलले परिषद्को नयाँ ऐन नआउँदा प्रदेश, जिल्ला र स्थानीय तहमा परिषद् गठन गर्न ढिलाइ भइरहेकोसमेत बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय युवा संघ, नेपाल सहसंयोजक रमेश पौडेल, नेपाल तरुण दलका नेता उत्तम चापागाईं, अनेरास्ववियुका संयोजक ऐन महरले युवालाई नीति निर्माण तहमा पुर्‍याएमात्र मुलुकको विकास हुने बताउनुभयो ।

‘विश्व अभियानका लागि युवा सहभागिता : रोजगारी प्रवर्द्धन र वातावरण संरक्षणमा युवा संलग्नता’ भन्ने मूल नाराका साथ यस वर्षको दिवस मनाइएको छ ।

परिषद्ले यस वर्ष कोभिड–१९ का कारणले भर्चुअलरूपमा कार्यक्रम गरेको थियो ।

युवाका विषय सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि हरेक वर्ष अगस्त १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।

सोही घोषणासँगै युवासम्बन्धी विभिन्न चेतनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरी सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवस मनाउन थालिएको हो ।

नेपालमा भने सन् २००४ देखि युवाका क्षेत्रमा काम गर्ने विभिन्न गैरसरकारी संस्थाको आयोजनामा कार्यक्रम मनाउन थालिएको हो । परिषद्ले सन् २०१६ देखि दिवस मनाउन थालेको हो । रासस