
-संजिव कार्की
मान्छे विवेक र विनयले संचालित हुनुपर्छ । झन् सत्ताको केन्द्रमा बस्ने राज्य हाक्नेहरुमा दिव्य ज्ञान सहितको राज्य सन्चालन क्षमता हुनु जरुरी छ । सही समयमा सही निर्णय लिने क्षमताको अभावमा हामी दिनबाट दुर्दिनमा छौं । अहिले पनि त्यस्तै चित्र प्रकट भएको छ । कोरोना भाइरसको संक्रमण (कोविड–१९)ले विश्व भिषण चपेटामा छ । कोरोना रोग माहामारी बनेर विश्वमा आफ्नो सामराज्य स्थापना गर्दै मृत्युको भयानक हुँकार छोडेर दिनप्रतिदिन मान्छेलाई निलिरहेछ आजसम्म । विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या सात लाख चालीस हजारको हाराहारीमा पुगेको छ भने संक्रमण २ करोड १९ लाख हाराहारीमा रहेर तीव्र गतिमा व्याप्त छ । नेपालमा पनि ९१ जना मृत्युको काखमा पुगिसकेका छन भने संक्रमित २४४३२ को रेकर्ड उपलब्ध छ । औषधि उपचार पत्ता लागिसकेको छैन यस्तो बेला संसारभर यसको नियन्त्रण, रोकथाम र नियोजन गर्न लाखौं वैज्ञानिकहरु आफ्नो मस्तिस्क खियाइरहेछन ।
परीक्षण आविष्कारमा जुटीरहेछन । रुसले भ्याक्सिन बनाएको दाबी गरेपनि आधिकारिक मान्यता पाई सकेको छैन । सबै किसिमका काम रोकेर कसरी बाँच्ने र बचाउने भन्नेमा देश चलाउनेहरुको ध्यान छ । आ–आफ्नो सरकारले जसरी हुन्छ ज्यान बचाई दिएहुन्छ भन्ने आम मान्छेहरुको सरकारसँग अपेक्षा छ । जिन्दगी रहे अरु बाँकी गर्न सकिन्छ । एक वर्ष विकास रोकिंदैमा फरक पर्दैन । एक वर्ष स्कुल कलेज नखोल्दैमा संसारको गति रोकिन्न । जीवम चलाउन अपरिहार्य बाहेक अन्य कार्य नगर्दैमा कुनै अनिष्ट हुन्न । तर जीवन चलाउने कृषि उपज अनि जीवन बचाउने औषधोपचार गर्ने अस्पताल खुल्नु र चल्नु सबैभन्दा ठूलो आवश्यकता हो ।
संसारभर मान्छेहरु बिभिन्न धर्म र आस्थासँग सम्बद्द छन । आ-आफ्नो धार्मिक आस्था र मान्यता अनुरुप मन्दिर, चर्च, मस्जिद, गुम्बा, मदरसा र धामलगायत अनेकन आस्थाका केन्द्रहरु छन । तर ती सब अहिले बन्द छन । बन्द गर्नु परेको स्थिति कोरोना आतंकले सिर्जना गरेको छ । आपद विपद र दुःखमा पुकार्ने बिभिन्न रुप र आस्थाका भगवानको ढोका बन्द छ । केवल आफ्नो आस्था र विश्वासलाई मान्छेले आफूभित्र नै भगवान छ भनेर पुकार्नु परिरहेछ । सबै देवदेवी र आस्थाका स्थल बन्द भएको बेला मान्छेको बाँच्ने सहारा केवल संसारभर अस्पताल हो । अस्पताल विश्वका सबै मानवको एक मात्र आस्था र विश्वासको धरोहर स्वास्थ्य केन्द्र बनेको छ । मान्छेहरु आस्थाको आधारमा बाँडिएका छैनन् बरु सबैको मूल आस्था अस्पताल बनेको छ । जीवन सहारा अस्पताल हो ।
संसारका यति धेरै मान्छेले एकै पटक अस्पतालमा आफ्नो जीवन बाच्ने अभिलाषा लिएर नजर लगाएको सम्भवत मानव इतिहासमा यो नै पहिलोपटक हो । विश्वलाई नै एकैपटक आफ्नो मुठीमा कोरोनाले आफ्नो प्रभाव र पन्जामा पारेर मान्छेहरुलाई विचलित बनाएको छ । यद्यपी, कोरोना लाग्दैमा सबैको मृत्यु हुँदैन तर यो लागेपछि मनोवैज्ञानिक रुपमा पर्ने गम्भीर असर, शारीरिक रुपमा देखिने दुर्वलता र परिणाम भोलिका दिनहरुमा देखिने छ । यसको लागि अनुसन्धान वर्षौ वर्षसम्म चल्ने छ । अहिले विश्व नै अनुसन्धानमा जुटेको छ । यसबाट मुक्ति पाउने उपाय खोज्न विश्वले अध्ययन, अनुसन्धान र आविस्कार गर्न पुंजी खर्च गरेको छ ।
सबै किसिमका घातक हात हतियार अणुबम र विस्फोटक पदार्थ भन्दा चाहिएको र सर्बाधिक खोजीएको बस्तु हो कोरोना रोकथामको उपाय औषधि । तसर्थ सबै किसिमका खर्च काटेर पनि कोरोना लगायत भाइरल विषाणुको औषधि पत्ता लगाउनु प्रमुख चुनौती छ । अन्यथा संसार कोभिड–१९ को महामारीले मानव नरसंहार भएर रित्तिने छ ।
आम बैज्ञानिक, डाक्टर र अनुसन्धानकर्ताको चिन्ता यसको औषधि पत्ता लगाउनमा देखिन्छ । सरकारहरु कसरी अनुसन्धानदातालाई सहयोग गरेर औषधि खोज्न मद्दत गर्न सकिन्छ । उपचार सहज र सबैको पहुच पु¥याउन दक्ष जनशक्ति र अस्पताल स्वस्थ्य केन्द्र र स्वास्थ्य सामग्री उपलब्ध गराउन दिलो ज्यानले लागेका छन । प्राथमिकताको सुचिमा जीवन निर्बाह गर्ने अवस्था र उपचार पद्दतिको अन्वेषण परेको छ । तर दुर्भाग्य नेपालका प्रधानमन्त्री यतिबेला अस्पतालको सबालमा मौनता साँधेर, मन्दिर बनाउने र मन्दिर स्थापना गर्ने ध्याउन्नमा केन्द्रित बनेका देखिन्छन ।
आइसोलेसन अस्पताल, आइसीयु र औषधिको माग व्यापक भएको बेला मन्दिरको प्रेसक्रिप्सन लेख्छन प्रधानमन्त्री । जनताको स्वास्थ्य र अस्पताल निर्माणको बदला त्यसको अचुक औषधि राम मन्दिर निर्माण नै हो भन्ने भान हुन्छ । द्वन्द्वात्मक भौतिकवाद आफ्नो राजनीतिक दर्शन मान्ने कम्युनिष्ट प्रधानमन्त्री यतिबेला , नियतिवादी ,भोगवादी, भाग्यवादी र धर्मवादी देखिएका छन । धार्मिक आस्था र विश्वास घनिभूत भएको देश नेपाल निश्चय नै हो तर धर्मको आडमा आफ्नो सबै कमजोरी छोप्ने धार्मिक तुरूप पक्कै पनि बेमौसमको बाजा हो ।
उसैपनि धर्मको नाममा कसैले पनि राजनीति र सत्ताको आड र भर्याङ बनाउनु हुन्न । झन् कम्युनिष्टले त धर्मको थोरै फ्लेवर पनि राजनीतिमा हाल्न मिल्दैन । मिसाउनु हुँदैन । कार्ल मार्क्स धर्मलाई अफिम भन्थे भने तिनै मार्क्सको अनुयायीहरु आज धर्मलाई आफू बच्ने टिक्ने र टेक्ने हतियार बनाउँदैछन भन्नुपर्दा कम्युनिस्ट आफ्नो दर्शन र मान्यताबाट विचलित भएको मान्नुपर्छ । कम्युनिस्टहरू स्खलित बनुन त्यो उनीहरुको राजनीतिक नाफा घाटाको कुरा हो । तर धर्मको नाममा महामारी भाइरल बनेको बेला जनताको ज्यान जोखिम उद्दत गराउने हक कसैलाई छैन ।
अस्पताल बनाउनुपर्ने बेला भैरहेको अस्पताल नखुलेको बेला, नयाँ नयाँ ठाउँमा स्वास्थ्य सेवा दिने बेला विवादस्पद राम मन्दिरको लागि चै बिशेष चासो दिनु र मन्दिर बनाउन अग्रसर बन्नुले प्रधानमन्त्रीको शासकीय क्षमता र विवेक माथि गम्भीर प्रश्न खडा भएको छ । पुण्य आर्जन कसैगरी हुन्छ भने मन्दिर बनाएर होइन असपताल बनाएर, अस्पताल सुबिधा सम्पन्न बनाएर पाउन सकिन्छ । आपद विपदमा आवेग होइन विवेकले चल्नु पर्ने बेला हो । प्रतिरक्षा, प्रतिशोधले गर्ने, आफ्नो बचाउ गर्न धर्मको टेको लिने, पार्टीको बिबादलाई ब्यबस्थापन गर्न निम्जा र दुब्ला तर्क गरेर अन्यत्र ध्यान मोड्न जे पनि भन्नु जसो पनि गर्नु अविवेकको पराकास्ठा हो ।
मान्छे औषधि अभावमा मर्न लागेक बेला, घिटीघिटी भएको बेला उपचार सामग्रीमा भ्रष्टाचार, दर्जनौ अस्पताल चहार्दा पनि उपचार नपाएर मान्छेहरुको दुखद मृत्यु, जीवनजलको अभावमा छटपटिएर मान्छेहरुको दर्दनाक अवस्थामा मृत्यु देख्दा पनि शासकहरुको मन, मनजस्तो नबन्नु असाध्यै लाज लाग्ने विषय हुन । मान्छेको जीवन आधार र हाम्रो कृषि यतिबेला तहसनहस छ । भोलि खाद्यान्नको अभावमा आउने बिकराल रुप र अवस्थाको परिकल्पना गरेर कृषि उत्पादन सहज बनाउन ध्यान दिनुपर्ने मल बिउ बिजन ,उत्पादित कृषिको लागि सहज बजारीकरण गरेर काम गरेर देखाउन प्राथमिकता तोक्नु पर्नेमा मन्दिर बनाउने कुरा कति तार्किक बौद्दिक कति विवेकी निर्णय हो ? भगवान आफ्नो लागि नभएर अरुको लागि अस्तित्वमा रहन्छन । तसर्थ सृष्टिका आफ्ना सुन्दर रचना मानव जगतमा परेको आपदमा जानकार छन तसर्थ भगवान आफ्नो लागि मन्दिर भन्दा मान्छेहरुको लागि अस्पताल जरुरी देख्छन भनेर सोच्ने बेला होइन र ? विवेकी मस्तिस्क र हृदयले सोच्ने सम्झने शक्ति किन गुमायो ?
नरेन्द्र मोदीको अयोध्यामा राम मन्दिरको काउन्टर भगवान रामकै नाममा भव्य सुबिधा सम्पन्न अस्पतालको सिलन्यास गरेर पनि दिन सकिन्थ्यो । यतिबेला अस्पताल चाहिएको छ । एम्बुलेन्स चाहिएको छ । निजी अस्पतालहरु गेट बन्द गरेर बसेका छन । राज्यको आपतमा तिनलाई काममा लगाउन सकिन्थ्यो । महामारी भएकै बेला बन्द हुने नीजि अस्पतालको उपादेयता अब पनि बुझिएन र ? अस्पताल ब्यापारको लागि खोलिएको रहेछ प्रस्ट भयो । जतिपनि नीजि अस्पताल मेडिकल कलेज केवल पैसा छाप्ने मेसिन बनाउन लागि खोलिएको हो, यिनलाई खोल्न दिनुहुन्न, नियमन र क्वालिटी कन्ट्रोल अत्यावश्यक छ भनेर सत्याग्रह गर्ने डाक्टर केसीको मर्म बुझ्ने बेला भएन र ?
अस्पताल विकेन्द्रित गर्नुपर्छ भन्नुको अर्थ गोविन्दको कुनै स्वार्थ थियो कि यो भयाबह देख्ने अग्रिम दूरदर्शीता ? सरकारी अस्पताल नै किन भन्ने प्रश्नको जबाफ अब त पक्कै मिल्यो । अब पनि नचेत्ने ? निजी अस्पतालहरुले दुखको यो घडीमा कति आफ्नो सामाजिक दायित्व निर्वाह गरे ? मुल्यांकन गर्ने कि ? अब निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गर्नको लागि कुनै थप तर्क र कारण चाहिन्छ र ?
कम्युनिष्ट बर्गीय हुन्छन भन्ने कुरा किन देखिन्न । गरिब ,निमुखा, निम्न बर्गका मान्छेहरु बाढीपहिरो जस्ता प्राकृतिक बिपत्तिमा परेर बसेका छन । यस्तोबेला गरिबको गाँस, बास र कपास महत्वपूर्ण कि राम मन्दिर ? चेपांग बस्तीमा सेनाले आगो लगायो प्राथमिकता चेपांगको टाउको ओत लाउने बास कि मन्दिर ? यदि मन्दिर बनाएर रोग भोक र शोकबाट छुटकारा मिल्छ भने मन्दिर बनाऊ कुनै बिरोध छैन । भएका मन्दिर बन्द गर्ने विषम परिस्थिति छ यतिबेला ।
मन्दिर कुनै पनि हालतमा राजनीतिक, कुटनीतिक ,धार्मिक र नैतिक दृष्टिले उपयुक्त अश्त्र होइन । मोदीलाई जवाफ कोरोनामुक्त गराउन देशलाई गज्जब ब्यबस्थापन गरेर दिनुपर्छ । सकिन्छ कोरोनको औषधि पत्ता लगाएर दिनुपर्छ । महामारी, बाढीपहिरो, अभाव भोक र शोकको अभिभावक बनेर राज्यले दायित्व निर्वाह गर्नुपर्छ । भारतसँग चित्त दुखाइ छन् । गौतम बुद्द हाम्रो भनेकोमा असहमति होला तर त्यसको प्रतिकार गर्ने समय यो होइन । बुद्द हाम्रो भन्नेको जबाफ राम हाम्रो भनेर हुन सक्तैन ।
यतिबेला हाम्रा प्राकृतिक बनस्पती, जडीबुटमा खोज अनुसन्धान र परिक्षण गर्न आयुर्वेदलाई प्रोत्साहन गर्नुपर्ने थियो । भोलिको सम्भावित अनिकाल टार्न कृषिको उद्धम आवश्यक थियो तर गरिदैछ उल्टो । स्वास्थ्यकर्मी, डाक्टर, नर्स अनि सुरक्षाकर्मी, संचारकर्मी, कोरोना जोखिममा छन् । यिनको लागी बोल्नुपर्ने यिनलाई सुरक्षित गर्न योजना खोज्नु पर्ने प्रधानमन्त्री त्रेता युगका रामचन्द्रको डेरा भेटे भनेर दंगदास देखिन्छन । लकडाउन चैत्र ११ पछि मान्छेहरुले आत्महत्या गर्ने क्रम डरलाग्दो छ । निराश मान्छेहरुको अवस्था आशावादी बनाउन कार्यक्रम घोषणा गर्नुपर्ने अहिलेसम्म २३०० मान्छेहरुले आत्मघात गरेर जीवन लीला समाप्त गरेका छन यो सामान्य अपवाद होइन ।
लकडाउन अबधिको घर भाडा, स्थान भाडा छूट पाउने कि नपाउने भनेर भाडावाला र घरबेटी बीच तीव्र विवाद र असन्तोष चुलिएको छ । सरकारी घोषणा र नीति अस्पष्ट छ । जसलाई प्रष्ट पार्नु जरुरी छ । यो पनि सामान्य समस्या होइन । भोलि विवाद र द्वन्छ बढ्दै जाँदा घरबेटी र भाडावालको सम्बन्धमा दरार पैदा हुँदा बिकराल स्थिति पैदा हुनसक्छ । अतः यस्ता कुरालाई गम्भीरतापूर्वक लिएर सरकारले कदम चाल्नुपर्ने बेला अनर्थ गर्दै हिडेको छ । मन्दिर पछि बनाउँला मन्दिरको खाँचो छैन । तर अस्पताल संधै र जहिल्यैको लागि काम लाग्छ । अतः पुन्यकर्म गर्नेहरुलाई समेत अस्पताल बनाउन सहयोग गर्न, अस्पताल आधुनिक र सुबिधा सम्पन्न गराउन, दक्ष जनशक्ति र प्रयोगशाला निर्माण गर्न प्रेरित गर्ने बेला प्रधानमन्त्री किन मन्दिरको आवश्यकता देख्नुहुन्छ ? अब पुन्य कमाउन मन्दिर होइन अस्पताल भव्य र ब्यवस्थित गरौं ।
नागरिकको स्वास्थ्यको दायित्व राज्यको हो । तसर्थ निजी अस्पतालहरुको सरकारीकरण गरेर अस्पताल मन्दिरमा रुपान्तरण गरौं । मान्छेको सहज जिउने हक मन्दिरका देवताले भन्दा अस्पतालका स्वास्थ्यकर्मी सहज हुन्छ । धुपबत्ती बालेर देवता खुशी हुन्नन । देवता खुशी पार्न बिरामीको मुखमा औषधि परोस, घाउमा मलमपट्टि । अबका भगवान मन्दिरमा होइन अस्पतालमा भेटिन्छन । अस्पताल निर्माण गरौं । स्वास्थ्यकर्मीलाई भगवान भनौं । त्रेता युगका रामको लागि मन्दिर होइन वर्तमान भगवानका लागि अस्पताल ।
प्रतिक्रिया दिनुहोस्