१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नापीको कमजोरीका कारण नेपाली भूमिमाथि भारतले अतिक्रमण गरिरहेको खुलासा


0
Shares

काठमाडौं, साउन २९ । द्वन्द्वकालीन समयमा नापी विभागका कर्मचारीहरुले गरेको कमजोरीका कारण नेपाली भूमिमाथि भारतीय पक्षले अतिक्रमण गरिरहेको खुलासा भएको छ ।

सरकारले सुस्ता र कालापानी क्षेत्रबाहेक करिब ९८ प्रतिशत सीमा विवाद समाधान भएको बताएपनि कञ्चनपुरलगायतका क्षेत्रमा अझै सीमा विवाद सुल्झिन सकेको छैन ।

द्वन्द्वकालीन समयमा नापी विभागको टोलीले भारतीय टोलीसँग भारततर्फ नै बसेर नाप–नक्सा गरी जारी भएको ‘स्ट्रिप’ नक्साका कारण सयौं बिघा जमिनमा भारतीय पक्षले दाबी गरिरहेको छ । त्यो जमिनको स्वामित्व नेपालीको र भोगचलन भारतीय पक्षले गरिरहेका छन् ।

अन्तर्राष्ट्रिय सीमा सरोकार समिति, कञ्चनपुरका संयोजक पल्लवराज भट्टले २०५८ देखि २०६० को द्वन्द्वकालीन समयमा सुरक्षाको कारण देखाउँदै नेपाली नापी विभागको टोलीसमेतले भारततर्फबाट नै सम्पूर्ण काम गरेर ‘स्ट्रिप’ नक्सा जारी गरेको बताउनुभयो ।

स्ट्रिप नक्सामा दुवैै देशबीच हस्ताक्षर गर्ने सहमति अझै बनेको छैन ।

कालापनी र सुस्ता क्षेत्रको विवाद समाधान गरेरमात्रै स्ट्रिप नक्सामा हस्ताक्षर गरी सम्झौता गर्ने नेपाल सरकारको अडान भएपनि नापी विभागका कर्मचारीहरुले भने हस्ताक्षर गरिसकेका छन् ।

सीमा समस्या समाधानका लागि पुराना नक्सा, तथ्य र प्रमाणलाई आधार मान्दै भारतीय पक्षसँग वार्ता गर्नुपर्ने सुझाव उहाँको छ ।

बुधबार नक्सा सच्याउन माग गर्दै आएका कञ्चनपुरका स्थानीय र जनप्रतिनिधिलगायत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, नापी विभाग र परराष्ट्र मन्त्रालयका अधिकारीहरुसँग संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भएको थियो ।

दुवैतर्फको प्रतिनिधिमूलक संयन्त्रहरु बनाएर सीमा नक्सा तयार गर्नेक्रममा २०४५ देखि २०४६ सम्म कञ्चनपुर जिल्लाको नदी क्षेत्रको नक्सा तयार भएको थियो ।

२०५६ देखि २०६१ सम्म जमिन क्षेत्रको नक्सा तयारी गर्ने काम सम्पन्न भएको थियो ।