
रोमन आचार्य र भरत केसी (इमेज)
काठमाडौं, साउन २९ । इतरपक्ष चिढिएपनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा १४औं महाधिवेशनको सम्मुखमा ४७ ओटै विभाग गठन गरिसक्ने हतारोमा हुनुहुन्छ ।
देउवा चरणबद्धरुपमा विभागहरुलाई पूर्णता दिएर आफूनिकटहरुको समूह बलियो बनाउन चाहनुहुन्छ ।
तर, इतर समूह भने देउवाको कदम विधानविपरीत भएको भन्दै आसन्न महाधिवेशनमा उहाँ पार्टी कब्जा गर्ने रणनीतिमा रहनुभएको आरोप लगाइरहेका छन् ।
विभागमा विस्तारमा कांग्रेस सभापति शेरबहादुर देउवाको कदमविरुद्ध रहेको इतर समूहको मागलाई उहाँले वेबास्ता गरिरहनुभएको छ ।
इतर खेमानिकट करिब ५० जिल्लाका सभापतिहरुले बिहीबार विज्ञप्ति जारी गर्दै विभाग विस्तार अमान्य हुने घोषणा गरे ।
स्व. सुशील कोइरालाको कार्यकालमा गठन भएका विभाग भंग गर्न आफूले खेलेको भूमिका स्मरण गराउँदै मंगलबार १२ जना केन्द्रीय सदस्यहरुले संयुक्त विज्ञप्ति निकाले ।
साउन १ गते निर्वाचन समितिलाई पत्र लेख्दै महामन्त्री, वरिष्ठ नेता र कोषाध्यक्षले महाधिवेशनको प्रक्रिया सुरु भइसक्दा गठन भएको विभागमा सदस्य थप गर्ने काम तत्काल बन्द गराउने माग र साउन १५ गते देउवालाई भेटेर विधानविपरीत पद र प्रलोभन बाँडेर महाधिवेशन प्रभावित पार्ने चलखेल बन्द गर्न लिखित प्रस्तुत गरिएको माग पनि अर्थहीन बन्यो ।
देउवाले आफूलाई शक्तिशाली बनाउन थप २० ओटा विभाग गठन अन्तिम चरणमा पुर्याउनुभएको छ ।
आइतबारयतामात्र विभिन्न विभागहरुमा ७०० को हाराहारीमा उहाँले आफूनिकटलाई जिम्मेवारी तोक्नुभएको छ ।
आसन्न १४औं महाधिवेशनबाट कार्यकाल दोहोर्याउन कस्सिनुभएका देउवाले विधानमा रहेको २४ ओटा विभागलाई बढाएर ४७ पुर्याउनुभएको हो ।
यी विभागहरुलाई पूर्णता दिएर दुई हजारको हाराहारीमा आफ्ना पक्षका कार्यकर्तालाई जिम्मेवारी दिएर आफ्नो पकड मजबुत् बनाउन देउवा कस्सिएको देखिन्छ ।
सभापति देउवाको विभाग गठन र विस्तारमा देखिएको एकलौटी र इतरपक्षको विरोधले पार्टीमा किचलो भने थप झांगिएको छ ।
नेपाली कांग्रेसमा विकसित पछिल्ला घटनाक्रमहरुले १४औं आसन्न महाधिवेशनको तिथि त पर धकेलेको छ नै आन्तरिक प्रजातन्त्रको अभ्यासमा पनि यसले ठेस पुर्याएको विश्लेषण हुन थालेको छ ।
प्रतिक्रिया दिनुहोस्