
यज्ञराज पाण्डे र दिलिप पोखरेल (इमेज)
काठमाडौं, साउन ३० । आन्तरिक विवादले पार्टी नै फुटको संघारमा पुगेका बेला नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको सहमतिमा गठित छ सदस्यीय कार्यदलले निकास दिनेमा नेताहरु नै सशंकित बनेका छन् ।
एकीकृत सुझावसहितको प्रतिवेदन तयारका लागि कार्यदल गठन गरिएपनि पार्टी समितिबाट निर्णय गरिनुपर्नेमा विवाद झन् अन्योलतमा धकेलिने हो कि भनेर नेताहरु सशंकित बनेका हुन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र लामो समयदेखि जारी रहेको गतिरोध अन्त्यका लागि छ सदस्यीय कार्यदल गठन गरेपनि विवादबारे पार्टी कमिटीभन्दा बाहिर छलफल हुँदा विषयान्तर हुने सम्भावना पनि उत्तिकै बढेको छ ।
कार्यदलले चार दिनभित्र प्रस्ताव पेस गर्ने अनौपचारिक निर्णय गरेपनि स्पष्ट विषय र उद्देश्य तय भएका छैनन् ।
त्यसो त यसअघि नै अध्यक्षद्वय ओली र दाहालका वार्तामा समावेश हुँदै आएका विष्णु पौडेल, शंकर पोखरेल, जनार्दन शर्मा सम्मिलित कार्यदलबाट आउने प्रतिवेदनले सहमतिको गाँठो फुकाइहाल्नेमा भने नेताहरु विश्वस्त छैनन् ।
नेकपाको पार्टी विधानले कमिटी प्रणालीलाई सर्वोच्च निकाय ठानेपनि स्थायी कमिटी बैठकमै विवादको समाधान खोज्ने आधार प्रशस्त हुँदापनि गठन गरिएको कार्यदलले समाधान दिनेमा नेताहरु सशंकित बनेका हुन् ।
पार्टीमा विवादले उग्ररुप लिएपछि नेकपामा तत्कालका लागि समस्या मत्थर पार्न कार्यदल बनाउने तर कार्यदलका प्रतिवेदन औपाचरिकतामै सीमित पार्ने काम विगतमा पनि नभएका होइनन् ।
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई अनुमोदन गर्ने/नगर्ने विषयमा यसअघि पनि नेकपाले २०७६ माघ १९ गते बनाएको कार्यदलको प्रतिवेदनलाई कार्यान्वयनमै नल्याइ औपचारिकतामा सीमित पारियो ।
त्यस्तै, २०७६ फागुन ११ गते वामदेव गौतमलाई राष्ट्रिसभामा मनोनयन गरी प्रधानमन्त्री बनाउन बाटो खोलिदिन संविधान संशोधनका लागि गठित कार्यदल कार्यान्वयनमै नआउँदै विवादित बन्यो ।
नेकपाको अन्तरिम विधानमै पार्टीका कमिटीलेमात्रै कार्यदल तोक्ने प्रावधान हुँदा–हुँदै विधानविपरीत अध्यक्षद्वयको मिलेमतोमा गठित कार्यदललाई विधानले नचिन्ने भएकाले विवाद समाधानका लागि बैठकहरुमा छलफलको विकल्प देखिँदैन ।
त्यसो त नेकपाको एकीकरण नै कार्यदलले गरेको हो । नौ सदस्यीय एकीकरण कार्यदलले नेकपा एकीकरण गराएलगत्तै पार्टीभित्रका प्रदेश कमिटीका सदस्य चयन तथा केन्द्रीय सदस्यहरूको कार्यविभाजनको कामसमेत दुई सदस्यीय कार्यदलले सुझाएको हो ।
तर, विगतमा भागबन्डाका आधारमा गठित कार्यदलका बैठक बस्नै सकसपर्ने नेकपा कार्यदलभित्र यसपालि पनि प्रष्टरुपमा देखिएको गुटबन्दीले शंका उब्जाएको छ ।
कार्यदलले साँच्चैको निकास दिने हो वा केपी शर्मा ओलीका विगतका फन्डाजस्तो कार्यदलपनि अर्को फन्डा हो, त्यो भने प्रतीक्षाकै विषय बनेको छ ।
प्रतिक्रिया दिनुहोस्