१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मास्क कस्तो, कुन प्रकारको प्रयोग गर्ने भन्नेमा अन्योल


0
Shares

काठमाडौं, साउन ३१ । कोरोनाको त्रास बढेसँगै बजारमा मास्क र स्यानिटाइजरको माग बढेको छ ।

कोरोना रोकथामका लागि मास्क लगाउन अनिवार्य भएसँगै मास्क र स्यानिटाइजरको माग बढेको छ ।

तर, मास्क र स्यानिटाइजर कसले, कहाँ र कसरी बेच्ने भन्ने कुनैपनि व्यवस्था नहुँदा एकातिर कालोबजारी मौलाएको छ भने अर्काेतिर कुन गुणस्तरको सामग्री प्रयोग गर्ने भन्नेबारे सर्वसाधारण अन्योलमा रहेका छन् ।

मास्क कसले बेच्ने भन्ने कुनै निश्चित मापदण्ड नबन्दा उपभोक्ता ठगिन बाध्य भएका हुन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि स्वास्थ्य मापदण्ड पूरा भए/नभएको दैनिक अनुगमन गरिरहेको दाबी गर्दै आएको छ । तर, बजारमा विभागले दाबी गरेजस्तो अवस्था भने देखिँदैन ।

उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद २ को उपभोक्ता संरक्षणसम्बन्धी व्यवस्थामा उपभोक्ताले वस्तु वा सेवाको मूल्य, परिणाम, शुद्धता गुणस्तरलगायतकाबारेमा सूचित हुने अधिकार हुन्छ भन्ने व्यवस्था छ ।

तर, मास्क र स्यानिटाइजरको मूल्य र गुणस्तरबारे कुनै निश्चित व्यवस्था वा मापदण्ड निर्धारण नहुँदा उपभोक्तामा समेत अन्योलता आएको छ ।

बढ्दो मागसँगै मास्क सबैतिर बिक्री हुन थालेपनि मास्क कस्तो र कुन प्रकारको प्रयोग गर्ने भन्नेबारे अन्योल देखिएको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्वास्थ्य मापदण्ड पूरा नगरेको व्यावसायिक फर्म तथा कम्पनीमा र उद्योगमा अवलोकन गर्दै कानुनी कारबाही पनि गरिरहेको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी बताउनुहुन्छ ।

तर, विभागले दाबी गरेजस्तो गुणस्तर मापन नै गरेको अवस्था भने बजारमा देखिने दृष्यले प्रष्टयाउँदैनन् ।

कोरोना महामारीकाबीच कालोबजारी मौलाउनेदेखि न्यून गुणस्तरका समेत सामग्री बिक्री हुने गुनासो उपभोक्ताले गर्दै आएका छन् ।

त्यसैले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै विभागले मास्क, स्यानिटाइजरलगायतका अत्यावश्यक वस्तुमा न्यूनतम् गुणस्तर र मूल्य तोक्नुपर्ने देखिएको छ ।