१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तोडियो नेपाल–भारत संवादहीनता, सम्बन्ध सुधारको संकेत


91
Shares

kp oli modi

अक्कल कुँवर (इमेज)

काठमाडौं, साउन ३१ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार टेलिफोनमा कुराकानी भएको छ ।

नेपालले भारतद्वारा अतिक्रमित भू–भाग समेटेर आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि दुई मुलुकबीच उच्चस्तरीय राजनीतिकस्तरमा देखिएको संवादहीनताको पनि अन्त्य भएको छ ।

दुवै देशका प्रधानमन्त्रीले संवादलाई निरन्तरता दिने सहमति गरेका छन् । यसलले दुई मुलुकबीचको सम्बन्धमा देखिएको गतिरोध अन्त्य हुनेमा आशा पलाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार भएको टेलिफोन वार्ताले विगत केही महिनादेखि दुई देशको उच्च राजनीतिक तहमा कायम रहेको संवादहीनता तोडेको छ ।

नेपालले भारतद्वारा अतिक्रमित भू–भाग समेटेर नयाँ नक्सा जारी गरेपछि दुई देशबीच तिक्तता छाएको थियो ।

भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई टेलिफोन गरी स्वतन्त्रता दिवसको शुभकामना दिनुका साथै हालै सुरक्षा परिषद्को अस्थायी सदस्य निर्वाचित भएकोमा बधाइ दिनुभएको छ ।

जवाफमा प्रधानमन्त्री मोदीले ओलीलाई धन्यवाद दिँदै कोरोना महामारीको न्यूनीकरणका लागि ऐक्यबद्धता प्रकट गरेको र कोरोना नियन्त्रणमा भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेको भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शीर्ष राजनीतिक नेतृत्वबीचको संवादले दुई देशबीच पछिल्लो समय देखिएको गतिरोध अन्त्य हुने आशा पलाएको छ ।

त्यसो त कूटनीतिज्ञहरुले संवादहीनता दुवै देशको लागि हितकर नहुने बताउँदै आएका थिए ।

शनिबार भएको टेलिफोन कुराकानीमा भारतका प्रधानमन्त्री मोदीले दुई देशबीचको सभ्यता र साँस्कृतिक सम्बन्धकाबारेमा स्मरण गर्नुभएको थियो ।

नेपालका अधिकारीहरुले पनि सीमा विवादका कारण दुई देशबीचको सम्बन्धमा असर पर्न नहुने बताउँदै आएका छन् ।

त्यसो त लामो समयदेखि बस्न नसकेको दुई देशबीचको सचिवस्तरीय बैठक पनि आगामी मंगलबार बस्ने तय भएको बताइएको छ ।

हुन त सीमा विवादपछि प्रधानमन्त्री ओलीले बेला–बेला आफ्नो ओहोदाको ख्यालै नगरी भारतले आफूलाई हटाउन खोजेकोजस्ता आरोप लगाउँदै आएपनि भारतको उच्च राजनीतिक तहबाट त्यस प्रकारको प्रतिक्रिया आएको थिएन ।

प्रधानमन्त्री ओलीका प्रतिक्रियाले सामाजिक सञ्जालमा समर्थन पाएपनि कूटनीतिमा असर पर्ने भन्दै विज्ञहरुले भने मन पराएका थिएनन् ।

दुई देशका प्रधानमन्त्रीबीचको पछिल्लो संवादले महिनौंदेखि जारी गतिरोधको अन्त्य र कूटनीतिक सम्बन्धमा सुधारको ढोका खुल्ने अपेक्षा गरिएको छ ।

भिडियो हेर्नुहोस्

तोडियो नेपाल–भारत संवादहीनता, सम्बन्ध सुधारको संकेत

तोडियो नेपाल–भारत संवादहीनता, सम्बन्ध सुधारको संकेत

Posted by ImageKhabar.com on Saturday, August 15, 2020