
रोमन आचार्य र सुन्दर गुरुङ (इमेज)
काठमाडौं, भदौ १ । १४औं महाधिवेशनबाट दोस्रोपटक नेतृत्व हत्याउने रणनीति बुनिरहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गम्भीर धक्का लागेको छ । आफ्नो समूहबाट एकल उम्मेदवार बन्ने देउवाको चाहना सजिलै पूरा हुने देखिँदैन ।
उहाँका विश्वासपात्र विमलेन्द्र निधि तथा गोपालमान श्रेष्ठले भावी सभापतिमा तीव्र इच्छा देखाएपछि दोस्रोपटक पार्टीको बागडोर सम्हाल्ने देउवाको रहरमा उल्झन देखिएको छ ।
गत बिहीबार सभापति देउवालाई भेटेर विमलेन्द्र निधिले आफू सभापतिको उम्मेदवार बन्न चाहेको कुरा प्रष्टाउनुभएको हो ।
तर, सभापति देउवाले १५औं महाधिवेशनमा सभापति बनाउने ‘ललिपप’ देखाउँदा पनि आसन्न महाधिवेशनमै सभापति उठ्ने निधिको अडान थियो ।
१५औं महाधिवेशनमा दोस्रो पुस्ताका नेताहरुको हालिमुहाली बढ्ने तथा उमेरमा आफू ७० कट्ने डर निधिलाई छ ।
उहाँले वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शंशाक कोइरालालगायतका नेताहरुसँग भेटेर सहयोग मागेको बुझिएको छ ।
निधिमात्र होइन, देउवालाई पार्टी फुटाउँदादेखि साथ दिनुभएका पार्टी पूर्वउपभापति गोपालमान श्रेष्ठ पनि देउवाको सहयोग लिएर सभापतिको दौडमा हुनुहुन्छ ।
यता, देउवाइतर खेमाबाट सभापतिका आधादर्जनभन्दा बढी आकांक्षी छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिको दौडमा होमिने निश्चित छ ।
यस्तै, कोइराला विरासत फर्काउन महामन्त्री शशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइरालाको हुटहुटी बढेको छ ।
फागुन १९ गते झापा पुगेर पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।
यता, गणेशमानपुत्र प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. रामशरण महत पनि सभापतिको दौडमा हुनुहुन्छ । दोस्रो पुस्ताबाट नेता गगन थापाको पनि चर्चा छ ।
कार्यकाल दोहोर्याउने देउवाको मनोकांक्षामा पूर्णविराम लगाउन उहाँकै समूहका दुईजनासहित आधादर्जनभन्दा बढी नेताहरुको चर्चा छ ।
राजनीतिक विश्लेषक किशोर नेपाल आसन्न महाधिवेशनमा निधिको सम्भावना बलियो देख्नुहुन्छ ।
आउँदो महाधिवेशनबाट पनि सभापतिको कुर्सीमा आफैं विराजमान हुने देउवामा आत्मविश्वास छ । केही दिनअघि दोस्रो पुस्ताका नेताहरुलाई दम भए भिडेर नेतृत्व लिन उहाँले दिएको चेतावनीले पनि स्पष्ट पार्छ ।
तर, आफ्नै समूहबाट आफू सर्वसम्मत् बन्न नसकेर आफ्नै विश्वासपात्रहरु नै प्रतिस्पर्धी बन्ने हो भने देउवाको सपना ‘मनको लड्डु घिउसँग’ भनेजस्तै हुनेछ ।
प्रतिक्रिया दिनुहोस्