१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘कोरोना संक्रमणमा आयुर्वेदिक उपचार प्रभावकारी’


26
Shares

नरेन्द्र मानन्धर र सुन्दर गुरुङ (इमेज)

काठमाडौं, भदौ १ । केही देशले कोरोनाविरुद्धको खोप निर्माण गरेको दाबी गरेपनि त्यसले अन्तर्राष्ट्रिय मान्यता पाइसकेको छैन । कोरोनाको खोप विकास नै भएपनि तत्काल नेपालमा आउने सम्भावना कम छ ।

यस्तो अवस्थामा रोगप्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधि र परम्परागत चिकित्सा उपचार प्रभावकारी भएको छ ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरका कोभिड–१९ का संयोजक डा. जितेन्द्र श्रेष्ठको भनाइलाई मान्ने हो भने कोरोनामा आयुर्वेदिक उपचार प्रभावकारी देखिन्छ ।

उहाँले जडीबुटीबाट बनेको औषधि बालबालिकाबाहेक कोरोनाका संक्रमितहरुलाई बिहान, दिउँसो र बेलुका दुई/दुई चक्की खुवाइरहेको बताउनुभयो ।

आयुर्वेदिक औषधि सेवन गरिरहेका ७७ जना संक्रमितमध्ये ६९ जनाको ‘पीसीआर’ परीक्षण गर्दा ‘रिपोर्ट नेगेटिभ’ आएको डा. श्रेष्ठले जानकारी दिनुभयो ।

सो औषधि सुवाएर सात दिनपछि उनीहरुको पीसीआर परीक्षण गरिएको थियो ।

आयुर्वेदिक पद्धतिले छोटो समयमै संक्रमितले स्वास्थ्यलाभ गरिरहेको उहाँको दाबी छ ।

केन्द्रको अस्पतालमा भर्ना भएका ३३ जना बिरामी सात दिनमा नै निको भएर घर फर्केका छन् ।

आयुर्वेद औषधिमा विभिन्न रोगप्रतिरोधात्मक क्षमता बढाउने भएकोले कोरोनाको संक्रमितको पनि कोरोनासँग लड्ने क्षमता रहेको केन्द्रले जनाएको छ ।

आयुर्वेदिक औषधिका व्यावसायी नवराज शर्माका अहिले सर्वसाधारणले पनि जडीबुटी प्रयोग गर्न थालेको बताउनुभयो ।

केन्द्रले श्वासप्रश्वाससम्बन्धी रोगमा प्रयोग हुने औषधि प्रयोग गरिरहेको जनाएको छ । औषधिका साथ खानामा पनि विशेष ध्यान दिनुपर्ने केन्द्रको सुझाव छ ।

डा. श्रेष्ठ शरीरमा गर्मी पैदा गर्ने मसला पनि प्रयोग गर्न सुझाव दिनुहुन्छ । गुर्जो, पिप्ला, अश्वअन्धा तुलसी, जटामसी, पाँचऔंले, कुट्की, सतावरी, मुस्ली र मरिचलगायतका जडीबुटी प्रयोग गरे रोगप्रतिरोधात्मक क्षमता बढ्ने उहाँको भनाइ छ ।

अस्पतालमा हाल १६७ जना कोरोना संक्रमित उपचाररत् छन् । सबैलाई आयुर्वेद औषधि प्रयोग गरिएको र सबैको अवस्था सामान्य रहेको बताइएको छ ।

तसर्थ, कोरोना महमारीमा रोगप्रतिरोधात्मक क्षमता बढाउने जडीबुटी र आयुर्वेदिक औषधि प्रयोगलाई व्यापक गर्नसके राम्रै हुने देखिन्छ ।