२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


बेनी—भकुन्डे मोटरबाटो ‘ट्रयाक’ खुलेको १० वर्षमा पनि यातायातका साधन चल्न सकेनन्


0
Shares

road

ध्रुवसागर शर्मा (इमेज)

म्याग्दी, भदौ २ । म्याग्दीको बेनी—भकुन्डे मोटरबाटो ‘ट्रयाक’ खुलेको १० वर्ष बितिसक्दा पनि यातायातका साधनहरु चल्न सकेका छैनन् ।

२०६७ सालमै ट्रयाक खुलेको भएपनि मर्मत-सम्हार हुन नसक्दा यातायाताका साधनहरु सञ्चालनमा आउन नसकेका हुन् ।

बेनी—भकुन्डे सडक मर्मतको अभावमा जीर्ण बन्दै गएको छ । साढे सात किलोमिटर दुरीको यस सडक मर्मतको लागि अहिलेसम्म लाखौं रुपैयाँ खचिएपनि अहिलेसम्म यातायातका साधनहरु सञ्चालन हुनसकेका छैनन् ।

सडक मर्मत देखावटी गरिँदा स्थानीय बासिन्दाले विरोध जनाएपनि सम्बन्धित निकायले बेवास्ता गर्दा सडकको बेहाल भएको छ ।

उपभोक्ता समितिले सडकमा नाली निर्माण नगरी सामान्यरुपमा डोजरमात्र घुमाएर बजेट सक्ने प्रवृत्तिले गर्दा यो मोटरबाटोमा यातायातका साधनहरु सञ्चालन हुन नसकेका हुन् ।

बेनीदेखि भकुन्डेसम्म जानका लागि सल्लेनधारासम्म चारओटाटा सडक बनाइएको भएपनि कुनैपनि काम लाग्ने अवस्थामा छैनन् ।

बेनी—ठूलोगैरा—रोटेपानी हुँदै भकुन्डे जोड्ने सडकको सल्लेरीधारा, कन्थराजको ठूलोगैरामा सामान्य वर्षा हुँदासमेत सडक बिग्रने गरेको छ ।

बेनी भकुन्डे सडकमा करिब ७० लाख रुपैयाँको हाराहारीमा बजेट खर्च भइसकेको छ ।

बजेट त सकियो तर, सडकको अवस्था भने ज्यूँको त्यूँ रहनुले स्थानीयबासिन्दाले सडक निर्माणकार्यमा भ्रष्टाचार भएको भन्दै हिसाब-किताब खोजेका छन् ।

बाङ्गघरा—पिपलडाँडा—भीरकुना—भकुन्डे सडक उपभोक्ता समिति र ठूलोगैरा—खवरा—भकुन्डे सडक उपभोक्ता समितिको २६ लाख ५० हजार रुपैयाँ खर्च भइसकेको छ ।

बेनी—ठूलोगैरा—विरायचौर—भकुन्डे, बाङ्गेघरा—पिपलडाँडा—भीरकुना—भकुन्डे र ठूलोगैरा—खवरा मोटरबाटो उपभोक्ता समितिमार्फत् मोटरबाटो मर्मतको काम हुने गरेको छ ।

नगर कार्यपालिकादेखि वडा कार्यपालिका जोड्ने यो मोटरबाटोको अवस्था अत्यन्त दयनीय रहेको छ । त्यसैलेपनि यो बाटोमा यातायात सञ्चालन गर्ने स्थानीय बासिन्दाको रहर पूरा गर्न स्थानीय सरोकारवालाहरुले यस सडककोबारेमा आवाज उठाउनुपर्ने देखिन्छ ।

भिडियो हेर्नुहोस्