
नरेन्द्र मानन्धर र सुन्दर गुरुङ (इमेज)
काठमाडौं, भदौ २ । मंगलबार काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ । वर्षाका कारण काठमाडौं उपत्यकाका नदीको बहाव बढेको छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार मंगलबार काठमाडौंमा ४०.२ मिलिमिटर पानी परेको छ । जसका कारण चोभारको गल्छीमा वाग्मतीको पानी उर्लियो ।
चोभारको इतिहास नपढिकन काठमाडौंको इतिहास बुझ्न नसकिने इतिहासविद्हरुको भनाइ छ ।
बोधिसत्व मञ्जुश्रीले तलाउमा स्वयम्भूको अद्वितीय प्रकाश अवलोकन गरेर चोभारमा खड्ग प्रहार गरी तालको पानी बगाएको भनिन्छ । यही खोंचबाट पानी बगेपछिमात्रै काठमाडौंमा मानवबस्ती बसेको थियो ।
यस नेपाल खाल्डोमा भेटिएको पाषणयुगीन प्रमाणले करिब इसापूर्व ३० हजार वर्षपहिले नै काठमाडौंमा बस्ती बस्न थालेको अनुमान गरिएकोे छ ।
मञ्जुश्रीले चोभार गल्छीमा डाँडा काटी नेपाल खाल्डोको पानी बाहिर पठाएपछि आफ्ना शिष्य धर्माकरलाई राजा बनाइ बस्ती बसाएको वंशावलीमा उल्लेख गरिएको बताइन्छ ।
वर्षाका कारण मौसम सफा भएपछि यहाँ प्रेमजोडी र सर्वसाधारणहरु पानी उर्लिएको हेर्न झुम्मिएका थिए । तर, हेर्दा सावधानी भने अपनाएको देखिएन ।
संगम रावत चोभारमा पानी उर्लिएको हेर्दा र क्यामेरामा कैद गर्न पाउँदा बेग्लै अनुभूति भएको बताउनुहुन्छ ।
वर्षाका कारण काठमाडौंको वाग्मती र विष्णुमतीमा रहेको फोहर पनि बगाएर लगेको छ भने नदीहरु सफा देखिन्छन् । तर, ती फोहरहरु सबै चोभारमा गएर जम्मा भएको देखियो ।
वाग्मतीको निकासमा मञ्जुश्रीको खड्गको दाग अहिलेपनि देखिने बताइन्छ । चोभारले उपत्यकामा मानवसभ्यता निर्माण गरेको छ । तर, मञ्जुश्रीकाललार्ई आधुनिक नेपालको इतिहाससँग गाँस्न भने बाँकी नै छ ।
प्रतिक्रिया दिनुहोस्