
काठमाडौं । हिन्दू नेपाली महिलाले मनाउने चाड तीज अन्तर्गत आज दरखाने दिन । विभिन्न मीठा मीठा परिकारका साथ दर खाइदैछ ।
दुःख भुलाउन भोलिपल्ट बस्ने हरितालिका तीजको अवसरमा महिला दिदी बहिनीलाई व्रतको अघिल्लो दिन दर खुवाउने गरिन्छ ।
दर खाने दिनदेखि हरितालिका तीज सुरु हुन्छ ।टाढाका चेलीबेटी यस दिन माइतीघर वा आफन्तकहाँ खीर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन् ।
दर खाएको भोलिपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्वयुक्त खानेकुरा खाने चलन रहेको छ ।
हरितालिका तीजका बेला पानीसमेत नखाई ब्रत बस्ने र धेरै नाचगान गरिने हुनाले शक्ति आवश्यक हुन्छ ।
दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक फरक रहेको छ । कतै साँझमा अरु चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्य रातमा दर खाने गरिन्छ ।
पहिलेका दिनमा हरितालिका दिनको एक दिनमात्र दरखाने परम्परा रहेको थियो भने आजभोलि राजधानीलगायतका क्षेत्रमा एक महिना अघिदेखि नै दर खाने प्रचलन शुुरु भएको छ ।
परापूर्वक कालमा हिमालय पुत्री देवी पार्वतीले शिवलाई स्वामी पाउँ भनि निराहार ब्रत बसेको र उनको कामना पूरा भएको विश्वासमा राम्रो पति पाउन र विवाहितहरुले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै ब्रत बस्ने चलन रहेको छ ।
तर कोरोना संक्रमणका कारण र विभिन्न ठाउँमा लगाइएको निषेधाज्ञा र लकडाउनले यसपाली तीजको खाश रौनक देखिदैन ।
यसपालाको तीज घरमै बसेर मनाउन सरकारले सबैलाई अपिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस्