६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


पुजारी हत्याको विरोधः ‘धार्मिक सहिद’ घोषणा गर्न माग


0
Shares

काठमाडौं । रौतहटमा एक जना पुजारीको गोली हानी हत्या गरिएको घट्नाको चौतर्फी विरोध भएको छ ।

बुधबार राति माधवनारायण नगरपालिका वडा नं २ खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहलाई टाउकोमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।

मन्दिरमा बसेर खाना खाइरहेको अवस्थामा अज्ञात ब्यक्तिले गोली हानी उनको हत्या गरेको रौतहटका प्रहरी उपरीक्षक रबिराज खड्काले जानकारी दिनुभयो ।

हत्याको विरोध गर्दै विश्व हिन्दु युवा संघले पुजारीको हत्या प्रकरणको यथाशीघ्र छानबिन गरि हत्यामा संलग्नलाई तत्काल गिरफ्तार गर्न सरकारसँग माग गरेको छ।

संघका अध्यक्ष ऋषिकेश जंग शाहले पुजारी हत्याको घटनाबारे एक विज्ञप्ति जारी गर्दै शाहले यस्तो माग गर्नुभएको हो ।

शाहले हत्या गरिएका पुजारीलाई ‘धार्मिक सहिद’ घोषणा गर्न माग पनि गर्नुभएको छ ।

उहाँले यस्तो घटनाको जति निन्दा गरे पनि त्यो कमै हुने भन्दै जुन समाजले साधु सन्तको रक्षा गर्दैन त्यो समाज पतन भएर जाने पनि अध्यक्ष शाहले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ।

त्यस्तै हिन्दु धर्म अभियन्ता अस्मिता भण्डारीले पनि घट्नाको तत्काल छानविन गरी अपराधिलाई कारवाही गर्न माग गर्नुभएको छ ।

सामाजिक संजालमार्फत उहाँले समाजमा ब्याप्त विसंगती, हत्या, हिंसा र धर्म निरपेक्षको आडमा दिनानुदिन बढ्दै गएको धर्मान्तरण तथा हिन्दु धर्मका अनुयायी माथिको बढ्दो आक्रमणलाई रोक्न सरकार सक्षम हुन नसकेको उहाँको भनाइ छ ।

‘कोरोना महामारीको मौका छोपेर एउटा निर्दोष पूजारीको गोली हानी निर्मम हत्या गर्ने उदण्ड, अपराधीको पहिचान गरि तत्काल पक्राउ गरी हदैसम्मको कारवाही गर्न माग गर्दछु’ भण्डारीले आफ्नो फेसबुकमा लेख्नुभएको छ ।