१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात, आत्तिनु पर्दैन’


0
Shares

काठमाडौं, भदौ ५ । सरकारले दैनिक उपभोग्य वस्तु खाद्यान्नका लागि आत्तिनु नपर्ने बताएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘लकडाउन’ र निषेधाज्ञाबीच खाद्यान्न दाल, चामल, गेडागुडीलगायतका खाद्य सामग्री रहेको भन्दै आत्तिनु नपर्ने बताएको हो ।

हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा १२ हजार ७६८ मेट्रिकटन तथा निजी क्षेत्रसँग ८५ हजार मेट्रिकटन गरी ९५ हजार २६९ मेट्रिकटन खाद्य सामग्री मौज्दात छ ।

सरकारी कम्पनीसँग ९४७ मेट्रिकटन तथा निजी क्षेत्रसँग १५ हजार मेट्रिकटन गरी १५ हजार ९४७ मेट्रिक टन चिनी रहेको छ ।

यस्तै, सरकारसँग हाल एक लाख ३१ हजार मेट्रिकटन नुन छ । आठ महिनालाई पुग्ने नुन रहेको सरकारी दाबी छ ।

खानेतेल निजी क्षेत्रसँग ७५ हजार ४५० मेट्रिकटन तथा गेडागुडी २० हजार ५२ मेट्रिकटन मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।

यो महिनासम्म १० हजार मेट्रिकटन चामल खरिदको तयारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गरेको छ ।

भदौको अन्तिमसम्म चामल १० हजार मेट्रिकटन थपिने र २० हजार मेट्रिकटन पुग्ने र चाहिएकै परिमाणमा खाद्य सामग्री उपलब्ध गराउनसक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

साल्ट ट्रेडिङले २० हजार टनका लागि सरकारबाट स्वीकृति पाएको र ठेक्का सम्झौता पनि भइसकेकोले डेढ महिनाभित्रै सो चिनी नेपाल भित्रिने जनाएको छ ।

पछिल्लो समय पार्टी प्यालेस तथा होटल खुल्न नसक्दा पनि खाद्य सामग्रीको खपत न्यून रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । चाडबाडमा खाद्य सामग्री अभाव हुन नदिने उसको दाबी छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका पाँच स्थानबाट खाद्य सामग्री बिक्री गरिरहेको जानकारी दिएको छ ।