
काठमाडौं, भदौ ६ । महाकुम्भ मेला ओलम्पिकमा सहभागिता जनाउँदै पदक हासिल गर्ने लक्ष्य प्रायः खेलाडीले बुनेका हुन्छन् । नेपाली खेलाडी पनि त्यो लक्ष्यलाई पूरा गर्न दिनरात मेहनत गरिरहेकै छन् ।
कोरोनाका कारण एक वर्षपछि धकेलिएको टोकियो ओलम्पिकका लागि नेपाली खेलाडी अभ्यास गर्न नपाउँदा सहभागिता खल्लो हुनेमा चिन्तित छन् ।
ओलम्पिक सहभागिता जनाउनु नेपाली खेलाडीका लागि एउटा ठूलो उपलब्धिको सूचकको रुपमा लिइन्छ ।
छनोट चरण पार गर्दै नेपाली खेलाडीले सहभागिता जनाए नेपाली खेलकै शानको रुपमा व्याख्या पनि गरिन्छ ।
त्यसो त अहिलेसम्म छनोट पार गरेर ओलम्पिकमा तेक्वान्दोका संगीना वैद्य र दीपक विष्टलेमात्र राष्ट्रको प्रतिनिधित्व गरेका छन् । उनीहरुको अब्बल मेहनत र लगाबले उनीहरुको ओलम्पिक बाटो खुलेको थियो ।
तर, अहिले नेपाली खेलाडीको ओलम्पिक सहभागितालाई कोरोना तगारो बनेको छ, अभ्यासमा जुट्न नपाउँदा ।
नेपाली खेलाडीलाई ओलम्पिक सहभागिताको खुड्किलो छनोट चरण पार गर्न निकै कठिन छ ।
छनोटमा असफल भएपनि छनोट प्रतियोगितामा गरिएको प्रदर्शन र प्राप्त नतिजाका आधारमा ओलम्पिक सहभागिताको मौका दिने माध्यम ‘वाइल्ड कार्ड’ मौकालाई सदुपयोग गर्न कोरोना कहरकाबीचमा पनि अभ्यासलाई निरन्तरता दिनुपर्ने खेलविज्ञ सुशीलनरसिंह राणाले बताउनुभयो ।
वाइल्ड कार्डबाट भएपनि ओलम्पिकमा सहभागिता जनाउने लक्ष्य लिनुभएकी करातेकी अनु अधिकारीले तीव्रगतिमा फैलिएको कोरोनाले अभ्यास गर्न कठिनाइ भएको अनुभव सुनाउनुभयो ।
नेपाली खेलाडीलाई प्रत्यक्षरुपमा नियाल्ने नेपाल ओलम्पिक कमिटीले सहभागी हुने खेलाडीका लागि अहिलेसम्म विकल्पको कुनै बाटो दिएको छैन ।
नेपालबाहेक दक्षिण एसियाका केही देशमा ओलम्पिकमा सहभागिता जनाउने खेलाडीलाई सरकारले नै निश्चित मापदन्ड बनाएर अभ्यासलाई तीव्रता दिइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्