
पोखरा, भदौ ६ । पोखरामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार छ महिलासहित १६ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पोखरास्थित प्रदेश क्षयरोग केन्द्रमा गरिएको ‘पीसीआर’ परीक्षणमा पोखरा महानगरपालिका वडा नम्बर-९ की ६ वर्षीया बालिका, ६१ वर्षीया महिला, पोखरा-४ का ३५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यस्तै, पोखरा-९ का ३५ वर्षीय पुरुष, पोखरा-१६ का ३० वर्षीय पुरुष, पोखरा-२७ का ३० वर्षीय पुरुष, पोखरा-३० की २७ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।
उता, पोखरा-४ का २२ र २३ वर्षीय पुरुष, पोखरा-५ का ३४ वर्षीय पुरुष, पोखरा-६ का ३५ र ६१ वर्षीय पुरुष, पोखरा-८ का १६ वर्षीय पुरुष र १९, २४ र ४४ वर्षीया महिलामा कोरोना देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।
‘होम आइसोलेसन’का आठजनाले कोरोनालाई जिते
पोखरामा होम आइसोलेसनमा बसेका आठजना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
पछिल्लो समय पोखरामा संक्रमण बढदै जाँदा संक्रमण पुष्टि भएकाहरु अस्पतालमा पर्याप्त कक्ष नभएपछि होम आइसोलेसनमा रहेका थिए ।
होम आइसोलेसनमा रहेर कोरोना निको भएकाहरुमा पोखरा-१४ का तीन, पोखरा-९ का दुई तथा पोखरा-५, पोखरा-१७ र पोखरा-१९ का एक/एकजना रहेको महानगर स्वास्थ्य महाशाखाले जनाएको छ ।
कास्कीमा हालसम्म २६९ जना कोरोना संक्रमित भएकामा १६० जना निको भएका छन् ।
उपचार गराइरहेका बिरामी (सक्रिय केस)को संख्या १०७ रहेको छ । दुईजनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्र र प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवारोग उपचार अस्पतालमा संक्रमितको उपचार हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्