
केशव कोइराला (इमेज)
बर्दिया, भदौ ६ । बर्दियामा कर्णाली नदी व्यवस्थापन आयोजनाले निर्माण गरेकोे बाँध फुट्न थालेको छ । बाँध फुट्न थालेपछि नदी बस्तीमा पस्ने भन्दै तटीय क्षेत्रका बासिन्दा चिन्तित बनेका छन् ।
साउनको अन्तिम साताबाट निरन्तर बढेको कर्णाली नदीको बहावले राजापुर नगरपालिका तिघ्राघाटको बाँध भत्किएको छ भने टिहुनीघाटको बाँधसमेत भताभुंग हुँदै गएको छ ।
बाँध भत्किएको ठाउँमा नदीले स्थानीय बासिन्दाको जग्गासमेत कटान गर्न थालेपछि सर्वसाधारण त्रसित भएका छन् ।
एक सातायता राजापुर नगरपालिकाका हजारौं बासिन्दाहरुले तिघ्राघाटको नदी बस्ती छिर्न नदिनको लागि दैनिकजसो जनश्रमदान (बेगारी) गर्दै आएका छन् ।
त्यसैगरी, जुनसुकैबेला बस्ती कटान हुनसक्ने भन्दै टिहुनी घाटमा समेत अस्थायी तटबन्धको लागि स्थानीयहरु रातदिन नभनी खटिइरहेका छन् ।
कुलापानी चौधरी बडघर प्रणालीमार्फत् झाला, गुन्टा र बोरा लगाएर अस्थायी तटबन्धको नियन्त्रणको प्रयाससमेत भइरहको छ ।
पानीको बहाव निरन्तर बढिरहेकाले यसरी स्थानीय विधिबाटै नदी छेक्ने काम नै तत्कालका लागि उत्तम भएपनि दीर्घकालीन समाधान भने हैन ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले वर्षेनिको बाँधको समस्यालाई दीर्घकालीनरुपमा समस्या समाधान गरिनुपर्ने भन्दै यसको दीर्घकालीन उपाय खोजिने बताउनुभयो ।
बर्खाको समयमा पानीको बहाव बढ्नेक्रम रोकिएको छैन । कर्णाली नदी व्यवस्थापन आयोजनाले निर्माण गरेको बाँध फुट्ने खतराबाटसमेत उनीहरु मुक्त हुनसकेका छैनन् ।
नदीमा बढेको पानीको बहावले नदी छेक्न बनाइएको तटबन्ध नै भत्काइदिएपछि पुरानै अवस्था दोहोरिने त होइन ? भन्ने भयले उनीहरुको रातको निन्द्रसमेत भंग गरिदिएको छ ।
राष्ट्रिय गौरवका आयोजना निर्माण गर्दा दीर्घकालीनरुपमा समेत असर नपर्ने गरी निर्माण गर्नुपर्ने आजको आवश्यकता भएपनि यसतर्फ राज्यको फितलो संयन्त्र र दूरगामी सोच नहुँदा बर्दियाका वासिन्दाले वर्षेनि दुःख पाउँदै आएका छन् ।
त्यसैलेपनि तत्कालका लागि अस्थायी व्यवस्थापन महत्वपूर्ण भएपनि कर्णाली व्यवस्थापन आयोजनाले यसको दीर्घकालीन व्यवस्थापनका लागि चासो दिनु जरुरी भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्