
लहान, भदौ ६ । मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।
तीन दिनअघि गत भदौ ३ गते मृत्यु भएका मिर्चैया नगरपालिका-४ निवासी ६८ वर्षीय वृद्धमा शनिबार कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो ।
लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित ती वृद्धको गत भदौ २ गते गाउँमै स्वाब संकलन गरिएको थियो ।
स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला पठाइएको र रिपोर्ट नआउँदै उहाँको भदौ ३ गते मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख यादवले बताउनुभयो ।
उहाँको कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’को काम सुरु गरिएको प्रमुख यादवको भनाइ छ ।
योसँगै सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
यसअघि, सिरहाको गोलबजार नगरपालिका-१२ का २२ वर्षीय युवक र विष्णुपुर गाउँपालिका-१ का ४० वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्