
काठमाडौं, भदौ ६ । कोरोनका कारण विश्व अर्थतन्त्र नै यतिबेला सुस्ताएको छ । देशको आर्थिक परिसूचकको अवस्था राम्रो भएपनि आर्थिक वृद्धिदर भने ओरालो लागेको छ ।
कोरोनाको कारण आर्थिक वृद्धिदर २.२८ प्रतिशतमा सीमित रहने प्रक्षेपण रहेपनि कोरोनाकै कहरका कारण अझै घट्नसक्ने विज्ञहरु बताउँछन् ।
पाँच महिनादेखि कोरोनाको कारण आर्थिक गतिविधि सुस्त भएको छ । साना तथा मझौला उद्योग-व्यवसाय प्रभावित हुँदा लाखौं व्यक्तिले रोजगारी गुमाएका छन् ।
महामारीका कारण ६१ प्रतिशत उद्योग पूर्णरुपमा बन्द रहेको तथा ३९ प्रतिशत उद्योगमात्रै आंशिकरुपमा चलेका छन् ।
लाखौंको रोजगारी गुम्ने आँकलन राष्ट्रिय योजना आयोगले गरेको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।
तर, कोरोनाको कारण वृद्धिदर २ प्रतिशतमा सीमित रहने केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
लगानीयोग्य कर्जा प्रवाह नहुँदा बैंकमा पनि तरलता बढेको छ । दुई खर्ब बढी तरलता रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।
‘यस्तो अवस्थामा कोरोनाको जोखिम न्यूनीकरण गर्न सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ स्थानीयस्तरमा रोजगारी उपलब्ध गराउनु सरकारको प्रमुख दायित्व हो’-भन्नुहुन्छ, पूर्वअर्थसचिव रामेश्वर खनाल ।
यो समयमा संकटमा परेको व्यवसायलाई धराशायी हुन नदिइ टिकाइराख्नु नै अर्थतन्त्र धराशायी हुनबाट रोक्नसक्ने उहाँको तर्क छ ।
यस्तो अवस्थामा सरकारको काम कारबाहीमा सन्तोष गर्नसक्ने अवस्था नरहेको उहाँको भनाइ छ ।
यता, बैंकिङ क्षेत्रमा भएको तरलता व्यवस्थापनका लागि सरकारले कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने सुझाव पूर्वअर्थसचिव कृष्णहरि बास्कोटाको छ ।
कोभिडकै कारण विश्व अर्थतन्त्र ८ प्रतिशत खुम्चने प्रक्षेपण विश्व बैंकले गरेको छ ।
कोरोनाका कारण शिथिल अर्थतन्त्र उकास्नका लागि सरकारले स्वास्थ्य सुरक्षा बलियो बनाइ अस्पताल निर्माण, स्वास्थ्यकर्मी तथा लगानी परिचालनमा जोड दिनुपर्ने विज्ञहरुले जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्