
बिराज रोस्यारा (इमेज)
कैलाली, भदौ ६ । जब उहाँलाई क्यान्सर छ भन्ने थाहा भयो, छाङाबाट खसेजस्तै हुनुभयो । विश्वास गर्न नै मुस्किल भयो ।
डेढ वर्षअगाडि काठमाडौंमा उपचारका क्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर-४ की विद्या खड्कालाई क्यान्सर भएको थाहा भयो ।
सुरुमा न उहाँले विश्वास गर्नुभयो न उहाँको परिवारका सदस्य र आफन्तले नै विश्वास गरे । तर, क्यान्सर भएकै थियो । सत्य त्यही थियो, स्वीकार गर्नेपर्यो ।
‘आफूले यो गर्छु, त्यो गर्छु भनेर योजना बनाउन थालेकी थिएँ । जीवन जिउन सिकिरहेकी थिएँ’-खड्काले भन्नुभयो-‘असल बुहारी बन्ने प्रयासमा थिएँ । छोरी र जीवनसाथी (डेविड खड्का)सँग आफ्नो सम्पूर्ण जीवन खुसियालीसँग बिताउन चाहन्थें । तर, मेरो दुर्भाग्य, मलाइ क्यान्सर भयो ।’
क्यान्सरले जीवनमा धेरै कुरा सिकाएको अनुभव उहाँको छ ।
‘एक वर्षभित्रै धेरै यस्ता समय पनि आए, जुनबेला पीडा सहन नसकेर जीवन त्याग गरिदिउँजस्तो लाग्थ्यो । तर, फेरि आफ्नो परिवार सम्झिन्थें र आफूलाई बलियो बनाउँथें । थाहा छैन, मेरो सासले मलाई कहिलेसम्म साथ दिने हो । तर, म यति चाँडो हार त मान्दिनँ’-उहाँले सुनाउनुभयो ।
एक वर्ष दिल्लीमा उपचार गराएको बताउँदै विद्याका श्रीमान् डेविडले भन्नुभयो-‘कोरोनाभाइरसको महामारीपछि दिल्लीमा पनि उपचारमा असहजता भयो । अहिले विद्यालाई घर ल्याएका छौं । उपचारका लागि काठमाडौं लैजाने तयारी छ ।’
उहाँकाअनुसार आउँदो मंगलबार विद्यालाई उपचारका लागि काठमाडौं लगिनेछ ।
दिल्लीस्थित राजीव गान्धी अस्पताल र काठमाडौंका चिकित्सकलाई सम्पर्क गराएर किमोथेरापी गरिने उहाँले बताउनुभयो ।
‘यो दुर्लभ किसिमको क्यान्सर हो’-डेविडले भन्नुभयो-‘क्यान्सर त भनिएको छ तर कुन अंगमा मुख्य संक्रमण छ, अहिलेसम्म डाक्टरले भन्नै सकेका छैनन् । ठ्याक्कै पत्ता लगाउन नसक्दासम्म शल्यक्रिया पनि सम्भव हुँदैन ।’
मेटास्टेसिस क्यान्सर लागेको हुनसक्ने चिकित्सकहरुले अनुमान गरेका उहाँले बताउनुभयो ।
डेविड फुटबल खेलाडी हुनुहुन्छ । सुदूरपश्चिमले छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुषतर्फ फुटबलमा स्वर्णपदक जित्दा उहाँले सुदूरपश्चिमको प्रतिनिधित्व गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्