१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अछाममा बाढीले बगाएर बेपत्ता एकजनाको शव फेला, नौ अझै बेपत्ता


0
Shares

flood

अछाम, भदौ ८ । अछामको कैलाश खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका १० जनामध्ये सोमबार एकजनाको शव फेलापरेको छ ।

मंगलसेन नगरपालिका वडा नम्बर-३, रलेमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।

नदीले कटान गरेको रुखको जरामा अड्किएको अवस्थामा शव भेटिएको उहाँले बताउनुभयो ।

शव भेटिएको क्षेत्रमा अहिले प्रहरी टोली परिचालन गरिएको छ । शव निकाल्न नसकिएकाले सनाखत हुन नसकेको उहाँले जानकारी दिनुभयो ।

अविरल वर्षाका कारण गएको मंगलबार कैलाश खोलामा आएको बाढीले रामारोशन गाउँपालिका-५, शैनीबजारका १७ जनालाई बगाएको थियो ।

बाढी बगाएकामध्ये पटक पटक गरेर सातजनाको शव यसअघि नै फेलापरिसकेको छ ।

बाढीले बगाएर बेपत्ता बनाएका बाँकी नौजनाको पनि खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

सो बाढीले दर्जनौं घर, पुल, पानीघट्ट र सयौं रोपनी खेतीयोग्य जमिनसमेत बगाएको थियो ।