
मीरा बस्नेत (इमेज)
काठमाडौं, भदौ ८ । कोरोना संक्रमणलाई जितेर घर फर्कंदा छरछिमेकको दुर्व्यवहार संक्रमितले त भोगिरहेका थिए । तर, पछिल्लो समय उपचारमा अहोरात्र खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि पनि दुर्व्यवहारका घटना बढ्न थालेका छन् ।
कोरोना संक्रमणसँग जुधिरहँदा रोगसँगभन्दा पनि छिमेकीसँग लड्नुपरेको एक संक्रमितको भोगाइ छ ।
पछिल्लो समय संक्रमितमात्र नभइ ज्यानको बाजी लगाएर उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि पनि दुर्व्यवहार हुन थालेको छ ।
शनिबार काठमाडौंको बानेश्वरमा एक होस्टलमा बस्दै आएका सिभिल अस्पतालमा कार्यरत् स्वास्थ्यकर्मीलाई स्थानीयले अस्पतालबाट कोरोना ल्याइ टोलमा फैलाएको आरोप लगाउँदै होस्टेल छाड्न दबाब दिए ।
यस्तै, चितवनको रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेलाई कोरोना संक्रमण पुष्टि भएपछि जनप्रतिनिधिसहित छिमेकीले नै संक्रमितको घर भनेर ब्यानर नै टाँग्ने प्रयत्न गरे ।
सुनसरीका एक २७ वर्षीय युवक कोरोना संक्रमण निको भइ घर फर्कंदा छिमेकीले बस्न दिएनन् । अहिले संक्रमित संक्रमणकोभन्दा पनि समाजमा अपमानित हुने डरले विक्षिप्त बनेका छन् । यी त प्रतिनिधि घटनामात्रै हुन् ।
स्वास्थ्यकर्मीलाई ढाडस दिने र मनोबल बढाउने बेला अपराधीजस्तो व्यवहार गरिँदा समाज असहिष्णु बनेको त होइन ? भन्ने प्रश्न उठेको छ ।
मनोविद् नरेन्द्र ठगुन्ना उच्च मनोबल आवश्यक पर्ने बेला हुने दुर्व्यवहारले संक्रमितहरु हतोत्साहित हुने र गलत कदम चाल्नसक्ने तर्क गर्नुहुन्छ ।
समाजशास्त्री बलराम आचार्य कोरोना संक्रमणको अवस्था र यसको जटिलताबारे आमनागरिकलाई थाहा नहुँदा यस्तो अवस्था सिर्जना भएको बताउनुहुन्छ ।
आमनागरिकमा संक्रमित हुँदैमा मरिन्छ कि भन्ने गलत त्रासले दुर्व्यवहारका घटना बढेको हुनसक्ने उहाँको भनाइ छ ।
संक्रमितलाई हुने दुर्व्यवहारका घटना रोक्न राजनीतिक दल, नागरिक समाज र प्रबुद्ध व्यक्तिले बारम्बार अपिल गरिरहेका छन् । तरपनि दुर्व्यवहार भने रोकिएको छैन ।
स्वास्थ्यकर्मीलाई हतोत्साहित गरिए भोलिका दिनमा आफैं संक्रमित हुँदा कसले उपचार गर्ने ? कुरै नबुझी दुर्व्यवहारमा उत्रनेले हेक्का राख्न जरुरी छ ।
त्यसैले यो समयमा स्वास्थ्यकर्मीलाई अपमान होइन, सम्मानजनक व्यवहार गरौं र आफू पनि सचेत बनौं ।
प्रतिक्रिया दिनुहोस्