१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दक्षिण कोरियामा नियमित उडान सुरु भएपनि नेपालबाट तत्काल श्रमिक जान नपाउने


0
Shares

काठमाडौं, भदौ ९ । सरकारले दक्षिण कोरियासहितका केही देशमा नियमित उडान सुरु गर्ने निर्णय गरेपनि रोजगारी भने सुचारु नहुने भएको छ ।

दक्षिण कोरियामा पुनः कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कोरियाले तत्काल श्रमिक नलैजाने निर्णय गरेको हो ।

ईपीएस कोरिया शाखा नेपालसँगको छलफलमा एचआरडी कोरियाले दक्षिण कोरिया अहिले ‘पर्ख र हेर’को अवस्थामा रहेको बताएको छ ।

नेपालले दुई महिनापहिले नै नेपाली श्रमिक लैजाने विषयमा औपचारिक धारणा माग गरेपनि कोरियाले औपचारिकरुपमा भने नेपाललाई कुनैपनि जानकारी दिएको छैन ।

नेपालले श्रमिक लैजाने प्रक्रिया सुरु गर्न माग गर्दै त्यसको माध्यम कस्तो हुने भनेर परराष्ट्र मन्त्रालयमार्फत् पत्राचार गरेको छ ।

कोरोना संक्रमणको जोखिमसँगै अन्तर्राष्ट्रिय उडान बन्द भएपछि दक्षिण कोरियामा नेपाली श्रमिक जान पाएका छैनन् ।

करिब तीन हजार श्रमिक प्रक्रिया पूरा भएर पनि कोरिया जान नपाएको ईपीएस शाखाले जनाएको छ ।

तीनमहिने भिसा जारी भइसकेका करिब ८०० श्रमिकको भिसाको म्यादसमेत सकिएको छ । अरु एक हजारजनाको भिसा प्रक्रिया भइसकेको छ ।

तरपनि कोरियाले श्रमिक लिने औपचारिक निर्णय नगर्दा उनीहरुको रोजगारी अनिश्चित बनेको छ ।

एचआरडीका प्रतिनिधिले नेपाली श्रमिक नलैजाने निर्णय नगरिएको तर अहिलेको अवस्थामा तत्कालै निर्णय गर्न नसकिने बताएका छन् ।

यसअघि, कोरियाले ‘चार्टर्ड’ उडानमार्फत् श्रमिक नलिने निर्णय गरेको छ । तर, संक्रमणको जोखिम बढ्दै जाँदा नियमित ‘फ्लाइट’मा जानेलाई पनि उसले त्यहाँ ‘रिसिभ’ नगर्ने भएको छ ।

दक्षिण कोरियामा कोरोनाभाइरसको संक्रमण फेरि बढ्न थालेपछि देशव्यापी निषेधाज्ञा जारी गरिएको छ ।