१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


साउनमा वैदेशिक व्यापारको सूचक सकारात्मक


0
Shares

काठमाडौं, भदौ ९ । चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो महिना साउनमा वैदेशिक व्यापारको सूचक सकारात्मक पाइएको छ ।

भन्सार विभागकाअनुसार साउनमा आयातमा उच्च गिरावट र निर्यातमा सुधार भएको छ ।

साउनमा ८५ अर्ब ८० करोड ७९ लाख रुपैयाँको वस्तु आयात र नौ अर्ब ६२ करोड रुपैयाँको वस्तु निर्यात भएको छ ।

गत आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा आयात एक खर्बभन्दा बढीको थियो भने निर्यात आठ अर्ब ८३ करोड रुपैयाँको भएको थियो ।

आयातमा आएको कमी र निर्यातमा सामान्य वृद्धिले एक महिनाको व्यापार घाटामा समेत सामान्य सुधार देखिएको छ ।

विभागको तथ्यांकअनुसार एक महिनामा कुल व्यापार घाटा ७६ अर्ब १८ करोड ७९ लाख रुपैयाँ छ ।

गत आर्थिक वर्षमा साउन महिनाको व्यापार घाटा ९७ अर्ब ८८ करोड ८२ लाख रुपैयाँ बराबरको थियो ।

यो एक महिनामा व्यापार घाटा २२.१७ प्रतिशतले गिरावट देखिएको छ ।

साउनमा कुल वैदेशिक व्यापारको आकार भने ९५ अर्ब ४२ करोड ८० लाख रुपैयाँको रहेको छ । गत वर्ष साउनमा एक खर्ब १५ अर्ब ५६ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो ।

यो महिनामा कुल वैदेशिक व्यापारमा १७.४२ प्रतिशतको कमी आएको छ । वैदेशिक व्यापारमा निर्यातको हिस्सा १०.०८ प्रतिशत र आयातको हिस्सा ८९.९२ प्रतिशत रहेको छ ।