
काठमाडौं, भदौ ९ । साहसिक खेलका लागि नेपाल भौगोलिक बनोट र जलस्रोतले धनी छ ।
नेपालमा अल्ट्रा म्याराथन, पाराग्लाइडिङ, र्याफ्टिङ, बन्जीजम्प, क्यानोइङ, डाउनहिल साइक्लिङ, गल्फ, रक क्लाइम्बिङजस्ता साहसिक खेलले नेपालको पर्यटन तथा खेल क्षेत्रलाई विश्वभर चिनाएको छ ।
आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउने यी खेललाई आयस्रोत बनाएका व्यवसायी यतिबेला कोरोनाको चपेटामा परेका छन् ।
म्याराथन, बन्जीजम्प, पाराग्लाइडिङजस्ता खेल अहिले कोरोनाका कारण रोकिँदा यी व्यवसायको रोजी–रोटी खोसिएको छ ।
तीमध्येको हावामा चराजस्तै भएर उड्दै अनुभव लिनसक्ने पाराग्लाइडिङ पछिल्लो समय पोखरामा निकै चर्चित छ । तर, यो व्यवसाय अहिले कोरोनाका कारण ठप्प छ ।
पोखरामा १४ वर्षदेखि पाराग्लाइडिङ व्यवसाय गर्दै आउनुभएका चीनबहादुर बानियाँले कोरोनाले पेसा नै संकटमा परेको बताउनुभयो ।
नेपालमा हुने विश्वको चर्चित एभरेस्ट म्याराथन, अन्नपूर्ण म्याराथन, जुम्ला–रारा म्याराथन, काठमाडौं म्याराथन आदि प्रतियोगिताले विश्वमा चर्चा बटुल्ने गरेका छन् ।
तर, अहिले यस्ता दौडका साथ बन्जीजम्प, साइकिलिङजस्ता अन्य साहसिक खेल कोरोनका कारण आयोजना हुनसकेका छैनन् ।
विदेशबाट अल्ट्रा दौडका लागि धावकहरू सहभागिता जनाउन नेपाल आउने गरेका हुन्थे । अनि, नेपालको सन्देश विश्वभर फैलिन्थ्यो । तर, अहिले समय ठिक उल्टो भएको छ । प्रतियोगिता हुनसकेका छैनन् ।
नेपालको पहिचान दिलाउने यस्ताखाले कार्यक्रमलाई सरकारी तवरबाट नै पहल गर्नुपर्ने कतिपय सरोकारवालाले बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्