१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मकवानपुरको त्यो हार, जसबाट विशाल नेपाल निर्माण भयो


13
Shares

रिपेश दाहाल (रासस)

वाग्मती, भदौ ९ । आज भदौ ९ अर्थात् नेपाल एकीकरणको सुरुआत भएको दिन । मकवानपुर र गोर्खाली सेनाबीच भयङ्कर लडाइँ भएर गोर्खाली सेनाले मकवानपुरलाई परास्त गरेको दिन । मकवानपुरलाई गोरखामा विलय गराएको दिन ।

२५८ वर्षपहिला आजकै दिन गोर्खाली सेनाले समृद्ध र विशाल भएरपनि बाँडफाँट र अंशबन्डामा अल्झिएको मकवानपुरलाई परास्त गरी विशाल नेपाल निर्माणको सुरुआत गरेको थियो ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणको योजना बनाएर युद्धहरु लडेपछि स्वतन्त्र र ठूलो राज्य कब्जा गरेर नेपाल एकीकरणको वास्तविक सुरुआत गरेको दिन थियो, भदौ ९ ।

पृथ्वीनारायणले यसअघि कान्तिपुर मातहतको नुवाकोट, पाटनअन्तर्गतको माल्टा तथा मकवानपुरका इपा, कुलेखानी आदि क्षेत्र कब्जा गरेर गोर्खा राज्यमा मिलाएको भएपनि स्वतन्त्र राज्य मकवानपुर भने पहिलोपटक वि.सं. १८१९ भदौ ९ गते जितेका हुन् ।

नेपाल एकीकरण जायज थियो र आवश्यक पनि थियो भनेर मानिसकेपछि आजको दिन पनि नेपाल एकीकरणको स्वर्ण दिनको रुपमा मान्नुपर्ने र मनाइनुपर्ने इतिहासका खोजकर्ता केदार न्यौपाने बताउनुहुन्छ ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालकाअनुसार यो लडाइँ गोर्खाले नजितेको भए नेपाल एकीकरण हुने सम्भावना टर्न सक्थ्यो । त्यसो हुँदा आजको नेपालको स्वतन्त्र अस्तित्वसमेत नहुने सम्भावना प्रबल हुन्थ्यो । त्यसैले भदौ ९ गते नेपालको इतिहासको महत्वपूर्ण दिन हो ।

वि.सं. १७९४ मा गोरखाका युवराज पृथ्वीनारायणको विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग भयो । हेमकर्णका छोरा दिग्बन्धनसँग पृथ्वीनारायणको सम्बन्ध राम्रो भएन । हेमकर्णले कन्यादानका समयमा छोरीलाई गजमोतीको हार लगाइदिएका थिए र दुलाहा-दुलहीलाई एकदन्ता हात्तीमा चढाएका थिए ।

पृथ्वीनारायणले ती हार र हात्ती माग गर्दा दिग्बन्धनसँग झगडा पर्‍यो र पृथ्वीनारायण फर्केका थिए ।

पृथ्वीनारायणलाई सासू अर्थात् हेमकर्ण सेनकी रानीले निकै चोट पुर्‍याउने गरी भनेको इतिहासमा थाहा पाउन सकिन्छ । पृथ्वीनारायण राज्य विस्तारमा थप उत्साहित हुँदै गोर्खा फर्केका थिए ।

उनलाई मकवानपुर घटनाबाट हीनताबोध वा ग्लानि हैन, नेपाल एकीकरण गर्ने प्रेरणा प्राप्त भएको इतिहासबाट थाहा पाउन सकिन्छ ।

पृथ्वीनारायणले मकवानपुरमा हमला गर्ने विचार गर्नाको अर्को कारण नेपाल खाल्डालाई नाकाबन्दी गरेर गलाउने र गोर्खामा मिलाउने पृथ्वीनारायणको रणनीतिलाई उसले चुनौती दिएको थियो ।

कान्तिपुर नाकाबन्दी गर्दा मकवानपुरले व्यापार गर्न नपाउँदा आफ्नै राज्यलाई नकारात्मक प्रभाव पर्ने देखेर पनि गोर्खालाई सहयोग गरेन । त्यसपछि भने पृथ्वीनारायण मकवानपुर कुनैपनि हालतमा जित्नुपर्छ भनी सैनिक परिचालन गर्ने निर्णयमा पुगे ।

वि.सं. १८१९ मा भाइ शूरप्रतापको नेतृत्वमा एक हजार १०० गोर्खाली सेना मकवानपुर पठाइयो । शूरप्रतापसँगै भाइ महोद्दामकीर्ति र दलमर्दन शाह, रणरूद्र शाह, नन्दु शाह, काजी वंशराज पाण्डे, काजी कहरसिंह बस्नेत, काजी नरसिंह बस्नेत तथा काजी अभिमानसिंह बस्नेतको नेतृत्वको गार्खाली सेनाले मकवानपुरमाथि आक्रमण गर्‍यो ।

इतिहासका जानकार न्यौपानेकाअनुसार मकवानपुरका राजा दिग्बन्धन तथा मन्त्री कनकसिंह बानियाँले परिवारलाई सुरक्षित ठाउँमा पठाइसकेका थिए ।

कतिपय सक्षम लडाकु पनि उनीहरुको सुरक्षामा लगाइएकाले मकवानपुरे सेना कमजोर थियो । तापनि, मकवानपुरे सैनिकले बहादुरीसाथ लडे र ५०० जनाको ज्यान गुमाउँदै लडाइँ हारे । लडाइँ हारिने डरले राजा दिग्बन्धन तथा मन्त्री कनकसिंह भागेर हरिहरपुरगढीतर्फ लागिसकेका थिए ।

आठ घन्टाको सङ्घर्षपछि मकवानपुरमा गोर्खाले कब्जा जमायो । काठमाडौं उपत्यकाको दक्षिणमा पर्ने रणनीतिक महत्वको स्थान रहेकाले उपत्यकाको मार्ग नियन्त्रण हुने हुनाले गोर्खाली सेनाले आक्रमण गरेको थियो ।

वि.सं. १८१९ आजकै दिन मकवानपुर पृथ्वीनारायणको अधिकारमा आएको थियो । वि.सं. १८१९ असोजसम्म मकवानपुरका अरू स-साना स्वशासित क्षेत्र पनि पृथ्वीनारायणको कब्जामा आए ।

मकवानपुरगढी मुसलमानी आक्रमणबाट बच्न भारतबाट भागेर आएका सेनवंशीय राजखलक तुला सेनले वि.सं. १००० मा निर्माण गरेको भनिएपनि यथेष्ट प्रमाण पुग्दैन ।

पुरातत्व विभागका तत्कालीन प्रमुख अनुसन्धान अधिकारी जनकलाल शर्मालाई उद्धृत गर्दै साफल्य अमात्यको २०२७ सालमा प्रकाशित प्रतिवेदनले एघारौं शताब्दीमा मकवानपुर शक्तिशाली सेन राज्य बनिसकेको थियो भनेर लेखेको छ । कतिपय इतिहासकारकाअनुसार पनि नेपालका सेन वंशको उद्गमस्थल मकवानपुर नै हो ।

पाल्पाका राजा मुकुन्द सेनले आफूलाई मकवानी भनेको कतिपय लेखोट तथा शिलालेखमा पाइएकोलाई आधार मान्दा सेनहरु पाल्पाबाट मकवानपुर नभएर मकवानपुरबाट पाल्पा गएको मान्न सकिन्छ ।

सेन वंशावलीअनुसार वि.सं. १,५०० तिर खाम सेन नाम गरेका राजाले पाल्पामा राज्य खडा गरेर सेन वंशको सुरुआत गरेका हुन् । मुकुन्द सेन तिनै खाम सेनका पनाति हुन् । खाम सेनका छोरा चन्द्र, चन्द्रका छोरा रुद्र र रुद्रका छोरा मुकुन्द भएको उक्त वंशावलीमा उल्लेख छ ।

मकवानपुरको अध्ययन गर्न २०२७ सालमा पुरातत्व विभागका अभिलेख विशेषज्ञ अमात्यको नेतृत्वमा बनेको एक सरकारी टोलीले यहाँको वस्तुस्थिति, शिलालेख, ताम्रपत्र आदिको अध्ययन गरेर सरकारलाई बुझाएको प्रतिवेदनमा तुला सेनले मकवानपुरगढी निर्माण गरेर राज्य सम्हालेको उल्लेख छ ।

प्रतिवेदनले एक प्राचीन वंशावलीलाई उद्धृत गर्दै तुला सेनपछि सो गढीमा दलभञ्जन, गजपति, चन्द्र र रुद्र सेन राजा भएको उल्लेख गरेको छ । केही नाममा फरक र तिथिमितिमा एकरुपता नहुँदा अधिकांश इतिहासकारको मत बाझिएकाले ठोस र आधिकारिक धारणा निर्माण हुनसकेको छैन ।

अधिकांश इतिहासकारको मतमा भने मुकुन्द सेनले राजकाज त्यागी सन्न्यास धारण गर्नेक्रममा विशाल सेन राज्यलाई आफ्ना चार छोरा र दुई नातिलाई बाँडिदिएपछि कान्छा छोरा लोहाङका भागमा मकवानपुर पर्न गयो ।

वि.सं. १६१० मा लोहाङले आफ्ना पुर्खा तुला सेनले निर्माण गरेको किल्ला रहेको मकवानपुरगढीलाई नै आफ्नो राजधानी बनाएर स्वतन्त्र मकवानपुरको राजा भएका थिए ।